
राजधानीको बालाजुमा अवस्थित अष्टनारायण हलले नेपाली फिल्म बडीगार्ड नचालाए पछि हल सञ्चालक त्रिरत्न मानन्धर र निर्माता सुशिल पोखरेल बिचको सम्बन्धमा दरार आएको छ ।
अष्टनारायणको दोस्रो ठूलो पर्दामा निर्माता पोखरेल फिल्म लगाउने सम्झौता भएको थियो तर अन्तिम समयमा आएर हिन्दी फिल्म बर्फी चलाएर बडीगार्डलाई सानो हल दिएकाले झगडाको रूप लिएको हो । निर्माता सुशिलले सानो हलमा भए पनि लगाउन बिहिबार सांझ त्रिरत्नलाई खबर गरेको तर उनले आज फिल्म चलाउन नमानेको बताए । उनले भने, 'पहिला ठूलो हल दिन्छु भनेर सम्झौता गरे तर आज बर्फी चलाए ।' नेपाली फिल्मलाई लात हानेर हिन्दी फिल्मलाई अंगाल्दा आफू मर्कामा परेको सुशिलले बताए ।
यहि बिषयको बारेमा छलफल गर्न चलचित्र निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलले भोली शनिबार बिहान १० बजेका लागि आकस्मिक बैठक डाकेको छ । कार्यदलका संयोजक सुरेश दर्पण पोखरेलले दिएको जानकारी अनुसार दुबै पक्षको कुरा सुनेर भोली नै समस्याको छिनोफानो गरिनेछ । पोखरेल भन्छन्, 'छिनोफानो आज नै गरिन्थ्यो तर यो समस्याको बारेमा जानकारी ढिला आएकाले भोलीको लागि आकस्मिक बैठक डाकिएको हो ।'
यता निर्माता संघका अध्यक्ष राजकुमार राईले अष्टनारायण फ्रि हल भएकाले उसले चाहेको फिल्म चलाउन पाउनु अधिकार भए पनि बडीगार्ड चलाउने सम्झौता गर्दा गर्दै नचलाएकाले यो बिषयमा भोली दुबै पक्षलाई राखेर सहि निर्णय दिने बताए । यस बिषयमा प्रतिक्रिया लिन फिल्मीखबरले हल सञ्चालक त्रिरत्नलाई बारम्बार फोन सम्पर्क गरेको थियो तर उनी सम्पर्कमा आउन चाहेनन् ।
अष्टनारायणले शुरूका समयमा हिन्दी र नेपाली फिल्म चलाउँदै आएपनि बिगतका केहि बर्ष देखि नेपाली फिल्म मात्र चलाउँदै आएको थियो । तर अहिले फेरि सो हलले हिन्दी फिल्म चलाउन थालेको छ । क्यू सिस्टमबाट रिलिज भएको बडीगार्ड अहिले देशभरका ७५ भन्दा बढि हलमा रिलिज भएको छ ।