मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दर खाने फेसन आयो बरीलै

विष्णु प्र. सुबेदी, काठमाण्डौ, 2012/09/14

'धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार भाद्र तृतीया अर्थात तीजको अघिल्लो राती दरीलो चिज खुवाइने पद्धतीलाई दर भनिन्छ । दरमा कहीँ पनि मांशहारी चिज हुदैन । तर अहिले हामी कहाँ दरको नाममा होटलमा अझ त्यसमा पनि वियर, वाइन खुवाइदैछ । अहिले त दुई महिना अघि देखी नै दर खुवाउने कार्यक्रमहरु आयोजना गरीएको छ । म यसको सर्मथन गर्न सक्दिन । म त गाँउको संस्कारमा हुर्केकी हुँ । मलाई थाहा छ आमा दिदिहरुले त्यो दिन बिसुद्ध शाकाहारी भोजन खानुपर्छ भन्नुहुन्थ्यो । रातको १२ बजे उठेर खाने त्यसमा पनि भाले बास्नु अघि खाइसक्नु पर्ने चलन थियो । हामी त्यतिबेला दर खाने भनेपछि ५-६ दिन अघिबाट नै निकै उत्सुक हुन्थ्यौ ।'


नायिका रेखा थापाको यो भनाई हिजोआज व्यवहारमा पटक्कै देख्न पाइदैन । तीज आउनु भन्दा एक-दुई महिना अघिदेखि नै दर खुवाउने कार्यक्रमहरुले निकै स्थान पाउन थालेको छ हाम्रो समाजमा । तीजका अवसरमा वर्ष भरी भेटहुन नपाएका चेलीहरु भेट भएर सुख दुःख साट्नु त राम्रो हो । तर तीजको अवसरमा आयोजना हुने हरेक कार्यक्रममा झुण्डाइने दर खुवाउने कार्यक्रम भन्ने बाक्यले भने यो दिनको महत्वलाई घटाउदै लगेको छ । नारीहरुको महान चाड तीजका अवसरमा माइतीले छोरी चेलीलाई डाकी दर खुवाउने परम्परा अहिले पाँच तारे होटल सम्म पुगेको छ । वर्ष दिनभरी घर परिवारबाट प्राप्त पिडालाई तीजको अवसरमा गीत मार्फत संगीहरुसँग साट्ने मौलिक परम्परा अहिले विस्तारै परीवर्तन हुदै आएको छ । यो कुराले रेखालाई झन् चिन्तित तुल्याएको छ ।

 

रेखा थापा भन्छिन्- 'मैले पछिल्लो १० वर्ष यता निकै बिकृती आएको देखेकी छु । यो पनि एक किसिमको परीवर्तन त हो । तर अहिले हामीले नारीका कुराहरु तीजको अवसर पारेर राष्ट्र सामु पोख्नु पर्छ । पहिला-पहिला महिलाहरु श्रीमान र सासुबाट पिडित थिए यसकारण तीजको अवसरमा त्यस्तै बेदनाका गीत गाइन्थे तर अहिले नारी परीवारमा शोषित छैनन् । यसकारण हामीले नारी हकका कुरा गरेर तीज मनाउन सक्छौ । तीजका गीतमा पनि कस्तो बिकृती आएको छ गीतको माध्यमबाट हामी सन्देश दिन सक्छौ । एक दिन दिदी बहिनीहरु जम्मा भएर नारीहरुको हितका कुरा गरेर तीज मनाउन सक्छौ ।'


रेखाले यसमा असहमती जनाए पनि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले भने समर्थन जनाएकी छिन् । अहिले आयोजना भइरहेका दर खाने कार्यक्रमहरुले दिदी बहिनीलाई नजिक बनाएको उनको बुझाई छ । बिभिन्न क्षेत्रका दिदी बहिनीलाई एउटै थलोमा जम्मा गरेर आयोजना गरिने यस्ता कार्यक्रमले आत्मीयता बढाउँछ रे । उनी भन्छिन्- 'हामी महिलाहरुलाई रमाइलो गर्न बहाना पनि चाहिने, दर खाने कार्यक्रमहरुमा जादा रमझम हुने, अहिले माहौल पनि यस्तै छ । अझ हामी कलाकारलाई कस्तो गाह्रो विभिन्न स्थानबाट निम्ता आँउछ नजाउ भने ठुलो भएर आइन भन्छन् । रिलेशनको पनि कुरा हुन्छ । तर अहिले तीजका गीतमा अलिकति बिकृती आएको जस्तो लागेको छ मलाई ।'

 


तीजका गीतमा बिकृती आएको भन्ने भुवनले तीज मनाउने शैलीमा भने बिकृती देख्दिनन् । तर यसरी दुई महिना अघिदेखी दर खाने कार्यक्रम आयोजना गर्दा वास्तविक रुपमा दर खाने दिनको महत्व घट्दै आएको प्रति कत्तिको सचेत हुनुहुन्छ भन्दा उनी चिन्तित देखिइन् । भन्छिन्- 'अहिले झै गरेर दर खाने कार्यक्रम आयोजना हुँदै आए भने त भावी पुस्ताले दर खाने भनेको दुई महिना अघिबाट रहेछ भन्ने बुझ्छ । अलीअली गर्दै दर खाने दिनको अस्तित्व सकिन्छ ।'

 


'कलाकार यस्तो आइडल हो जसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्छ अनि उसका क्रियाकलापले नकारात्मक सन्देश पनि दिन्छ समाजलाई । अर्थात हाम्रो मौलिक संस्कृती जोगाउने र बिगार्नमा कलाकारहरुको पनि ठुलो हात रहन्छ । एकातिर हामी परम्परालाई धान्ने भनिरहेका छौँ तर यहि परस्परा धान्ने बहानामा कलाकारहरु दुई महिना अघिबाट दर खाने कार्यक्रमहरुमा सहभागी हुँदा यसको महिमा विस्तारै घट्दै आएको छ', रेखा थापा थप्छिन्- 'धार्मिक दृष्टिकोण अनुसार जुन दिनमा दसैको टिका लगाउने हो त्यहि दिनमा लगाउनु पर्छ । दुई महिना अघिबाट लगाउन त मिल्दैन । अझ त्यसमा पनि शुभ मुहूर्त हेरिन्छ । तीजको पनि यस्तै महत्व छ । धार्मिक तथा सांस्कृतिक महत्व बुझ्ने हो भने जे काम जुन दिनमा गर्ने हो त्यहि दिनमा गर्नु पर्छ । तीजको ब्रत उक्त दिन भन्दा अघि बस्ने यस्तो त हुँदैन ।'


पछिल्लो समय यो वा त्यो उद्देश्य लिएर धेरै नै संघसंस्थाहरु खुलेका छन् । सम्पर्क समाजहरु गठन भएका छन् । ति संघसंस्थाहरुले आफु निकटका चेलीहरुलाई जम्मा पारेर तीजको धेरै अघिदेखि नै दर खुवाउने कार्यक्रमहरु गर्दै आएका छन् । जहाँ नायिकाहरुलाई समेत निम्ता आँउछ अनि उनीहरुको उपस्थिती बाक्लो हुने गरेको देखीएको छ । केही वर्ष पहिला यसरी सामुहिक रुपमा दर खाने कार्यक्रम गर्दा थालनी राम्रो थियो होला । तर अहिले यहि कुरा फेसनको रुपमा आएको छ ।

 

नायिका मेलिना मानन्धर भन्छिन्- 'दर खाने कार्यक्रम भनेको त तीजको अघिल्लो दिन मात्र हो तर अहिले यस्ता कार्यक्रमहरु फेसनकै रुपमा अगाडी आए तीजको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । तीजको दिनमा निराहर ब्रत बसी नाचगान गर्ने धार्मीक मान्यता भएकोले उक्त दिनमा शक्ति मिलोस भनि अघिल्लो दिन राति दरिलो खाने कुरा खाने चलन छ । यस अर्थमा पनि तीजको अघिल्लो दिन बाहेक अरु दिनमा आयोजना हुने यस्ता कार्यक्रमलाई दर मान्न सकिदैन ।'

 

नीता ढुंगानाको पनि तीजको नाममा विकृती आएको बताउँछिन् । उनी भन्छिन्- 'यसरी आयोजना हुने कार्यक्रमहरुले परम्परालाई त धानीरहेका छन् । तर यो वहानामा त्यस भित्रको सुन्दर पक्षलाई विगारिदिएका छन् ।'

 

जे होस् तीजको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व छ । यसलाई बचाई राख्नु कलाकारका साथै हामी सबैको कर्तव्य हो । तीजलाई हुने खानेको मात्र हैन हुँदा खानेको पनि बनाउँ । तीजलाई धनले हैन मनले मनाउँ । नेपाली नारीहरुको महान पर्व तीजको शुभकामना ।


साभार : सिनेमा संसार साप्ताहिक