
गफ निकै ठूलो छ तर एउटै ब्यानरमा निरन्तर दोहोरिएका निर्देशक योगेश घिमिरेले निर्माणाधिन फिल्म 'नोटबुक' लाई पचास बर्षपछि बन्ने फिल्म भनी संज्ञा दिएका छन् ।
हुन त योगेशका विगतका फिल्महरुको ईतिहास पल्टाएर हेर्ने हो भने फर्मुला भन्दा बाहिर रहेर उनले फिल्म बनाउन सकेका छैनन् जसकारण उनका फिल्म सुपर हिट पनि हुन सकेका छैनन् । मेकिङको हिसावमा पनि उनका विगतका फिल्म कमजोर नै थिए तर यो पटक भने उनको टिमले आफ्नो पुर्नजन्म भएको बताएको छ । गुपचुप ढङ्गले गत भदौ ११ देखि सुटिङ गरेका योगेशले आज प्रेस भेटघाट कार्यक्रम गर्दै आफूले पचास बर्षपछि निर्माण हुने फिल्म सरह नोटबुकको मेकिङ गरिरहेको रहेको दावी गरे ।
प्रज्ञा फिल्मसका रेगुलर निर्देशक घिमिरेलाई निर्माता प्रज्ञा जोशीले विशेषत पुर्नजन्म भनी संज्ञा दिएकी थिईन् । 'यस अघि हामीले तीन वटा फिल्म बनाएका थियौं तर मेकिङका हिसावले यो हाम्रो पहिलो फिल्म हो', निर्माता जोशीले बताईन् । 'मैले समय सन्दर्भ र समाजलाई चित्रण गरेर यो फिल्म निर्माण गरेको छु तसर्थ पचास बर्ष पछिको नेपाल यो फिल्ममा देखिने छ', निर्देशक घिमिरेको भनाई थियो ।
जीवन लुईटेल, नीता ढुङगाना र नयाँ हिरो शेन सापकोटा मुख्य भूमिकामा रहेको सो फिल्मलाई संजय लामाले खिचिरहेका छन् । संजयले पनि घुमाउरो पारामा फिल्म अत्याधिक मिहिनेतका साथ खिचिएको बताए । कार्यक्रममा दिईएको जानकारी अनुसार पन्ध्र दिनको यो दौरानमा ३० प्रतिशत सुटिङ सकिएको छ भने बाँकी ईलामको श्री अन्तुमा हुनेछ ।