
नेपाली फिल्मको बजार विस्तारका लागि अष्ट्रेलियाको सोलाङ्चर कम्पनीले विगत २ वर्षदेखि निरंन्तर रुपमा पहल गर्दै नेपाली समुदायमाझ नेपाली फिल्म प्रदर्शन गर्दै आइरहेको छ । यसैक्रममा भर्खरै प्रदर्शनमा ल्याइएको नेपाली फिल्म हाइवे अष्ट्रेलियाका प्रमुख ६ शहरहरु सिड्नी, मेलवर्न, एडिलेड, ब्रिसबेन, पर्थ र डार्विनमा दैनिक ३ देखि ४ शोमा एकै साथ प्रदर्शन हुने छ ।
सेप्टेम्वर १३ बिहिबारबाट दैनिक प्रदर्शन हुने यो फिल्म १९ सेप्टेम्बर बुधबार एक सातासम्म प्रदर्शन हुने छ । यसअघि सेप्टेम्वर ६ देखि सिड्नी र मेलवर्नमा प्रदर्शनमा आएको हाइवे दोस्रो साता पनि चल्ने छ । दैनिक ३ देखि ४ शोमा प्रदर्शित यस फिल्ममा दर्शकहरुको आकर्षण मध्यम देखिएपछि सोलाङ्चरले दोस्रो साता पनि फिल्म प्रदर्शनमा निरन्तरता दिएको हो । अष्ट्रेलियाको इभेन्ट सिनेमाज अन्तर्गतका हलहरुमा हाइवे प्रदर्शन हुने छ ।
एकै पटक अष्ट्रेलियाभर नेपाली फिल्म रिलिज हुन लागेको यो पहिलो अवसर पनि हो । जसले हाइवेलाई मात्र नभई सिङ्गो नेपाली सिने क्षेत्रलाई अर्न्तराष्ट्रिय बजारमा फैलाउने मौकाका रुपमा सोलाङ्चर कम्पनीले लिएको छ । यो सुनौलो अवसरलाई सबै मिलेर साथ दिन सके अष्ट्रेलियाको बजारमा नेपाली फिल्मले पनि दैनिक रुपमा प्रदर्शित हुने मौका पाउने बताउँदै सोलाङ्चरका सदस्य मध्येका एक पेशाल लुईटेलले यो प्रयासलाई सम्पूर्ण फिल्मकर्मी र संचारकर्मीहरुको साथ रहने बिश्वास लिएको बताए ।
सोलाङ्चरले पहिलो पटक नेपाली फिल्मलाई अर्न्तराष्ट्रिय सिनेमा घरमा दैनिक ४ (चार) शो मा २ हप्तासम्म अष्ट्रेलियाका प्रमुख शहरहरु मेलवर्न, सिड्नी, पर्थ, क्यानवेरा, एडिलेड, ब्रिसबेनमा प्रदर्शन गरेको थियो । सोलाङ्चरले पहिलो पटक ‘गड लिभ्स इन दि हिमालयज’ प्रदर्शन गरेको हो । त्यसपछि ‘नाइ नभन्नु ल’ र ‘कुशुमे रुमाल’ प्रदर्शन भए । नेपाली फिल्म इतिहासमा अर्न्तराष्ट्रिय बजारमा यसरी फिल्म प्रदर्शनीमा ल्याउने ‘सोलाङ्चर’ संभवत पहिलो हुनसक्छ ।
'नेपाली सिनेमाको स्तर र अभिनय फितलो भएका कारण दर्शकले त्यति नरुचाएको पाइयो त्यसैले पनि सिने घरमा दैनिक ‘शो’ मा नेपाली फिल्म प्रदर्शन रोक्न हामी बाध्य नै भयौं', पेशालले भने, 'तर नेपाली फिल्म देखाउने अभियान भने टुटेन र प्रिमियर शोका रुपमा हामीले थुप्रै फिल्म प्रदर्शन गरिरहेका छौं ।'