एउटा आईटम गीतको सुटिङ बाँकी राख्दै ईन्डक्ल्याप गर्न नपाएको 'लभ फरइभर' फिल्मको युनिट आजबाट फ्रि भएको छ । ४५ दिने सेडुलमा गीतकै लागि दुई हप्ता ब्रेक लिएको उक्त युनिटले बालाजु स्थित चलचित्र विकास कम्पनीको स्टूडियोमा आईटम गीत खिच्दै ईन्डक्ल्याप ठोकेको हो ।
निरज बराल, मायाज बार हिरो गजित बिष्ट र सुमिना घिमिरे प्रमुख भूमिकामा रहेको सो फिल्मको आईटम गीतमा सुमिना र निरज देखिने छन् । जम्मा दुई वटा गीत रहेको सो फिल्मका कोरियोग्राफर गम्भिर बिष्ट हुन् । कलाकार शंकर आचार्यले निर्देशन गरेको सो फिल्ममा तितो सत्यमा बाल कलाकार भएर खेल्ने उनका छोरा राज आचार्यको पनि विशेष भूमिका छ । राजको सानो विशेष भूमिका भए पनि उनका पिताले हिरोको रुपमा राजको यो डेब्यु फिल्म भनेका छन् ।
मलेसियन प्रोजेक्ट 'सेफ ल्याण्डिङ' मा ब्यस्त रहेका निरजले उताको प्रोजेक्ट दुई दिन स्थगित गरी 'लभ फरइभर' सकेका हुन् । 'विचको ग्यापमा फिल्मको ९० प्रतिशत सम्पादन सकिएकाले सम्भवत कार्तिकमा फिल्म रिलिज गर्छौं होला', प्रोडक्सन कन्ट्रोलर बुद्धीलाल मगरले बताए । २९ बर्षका बुद्धिलालले एकै समयमा तीन वटा फिल्मको सुटिङ गराईरहेका छन् । 'लभ फरइभर' सहित उनको कन्ट्रोलिङमा भिजिलान्ते र सेफ ल्याण्डिङको सुटिङ चलिरहेको छ भने असोज पाँच देखि सुटिङ सुरु हुने फिल्म धुवाँ को प्रि–प्रोडक्सनमा पनि उनको कन्ट्रोलिङ चलिरहेको छ ।

