अध्यक्ष हुन आफूसंग केही फिल्मकर्मीले लविङ गरे पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई चलचित्र विकास बोर्डमा पठाउने तयारी गरेका छन् ।
विगत दुई हप्तादेखि रिक्त रहेको बोर्ड अध्यक्षका लागि तत्काल निर्णय हुन सक्ने सम्भावना कम रहे पनि मदनदासलाई बोर्ड पठाउन प्रधानमन्त्रीले तीव्र ईच्छा देखाएको खबर बाहिरिएको हो । मुलधारे राजनीतिमा आउने प्रयास स्वरुप रेखा थापाले बोर्ड अध्यक्ष हुने तयारी देखाउनु उनको हल्ला मात्र भएको समिक्षा आईरहेका छन् । यध्यपी गैर फिल्मकर्मी नियुक्त हुनु भन्दा आफू केही हदसम्म योग्य रहेको भन्दै एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईलाई उनले केही दिन अघि छुट्टाछुट्टै भेटेकी थिईन् ।
गैर फिल्मकर्मी नियुक्त हुन नदिन रेखाले प्रचण्ड र बाबुराम समक्ष बोर्ड अध्यक्ष फिल्मकर्मी नै हुनु पर्ने मागलाई दवाव स्वरुप आग्रह गरेकी थिईन । हाल एक सदस्य पद समेत खाली रहेको बोर्डमा अध्यक्ष नहुँदा असोज पहिलो साताका लागि आयोजना हुन लागेको चलचित्र दिवसको तयारी पनि लथालिङ्ग भएको छ । बोर्ड अध्यक्षका लागि संचारमन्त्रीका कानुनी सल्लाहकार सुरेश कार्की, संगीतकार लक्ष्मण शेष र निर्माता प्रदीप उदयको पनि नाम बाहिरिएको छ ।
यता फिल्मीखबरसँग कुरा गर्दै मदनदासले कसैले आफूलाई अध्यक्ष बनाए तयार भएको बताए । आफ्नो राजनैतिक पावर नभएकाले सम्भावना नदेखेको बताउँदै यो हल्लालाई आफूले खासै महत्व नदिएको मदनदासको भनाई छ । तर उनले जो आए पनि नेपाली फिल्म उधोगको मर्म बुझ्ने र अविभावकत्व बहन गर्न सक्ने व्यक्ति आउनु पर्ने बताए । उनले भने, 'आलोकाँचो व्यक्ति बोर्डको अध्यक्ष बन्न हुँदैन र बन्न दिन पनि हुँदैन ।' बोर्डको अध्यक्ष पदमा बस्नु चानेचुने कुरा नभएकाले फिल्म बुझेको मान्छेलाई नै ल्याउनु पर्ने उनको धारणा छ ।

