अगामी कार्तिक ३ गते अर्थात दशैंको छेकोमा नेपाली फिल्म उधोगमा ठूलै हलचल मच्चिने सम्भावना देखिएको छ । अझ भनौं यो बर्षको नवदुर्गामा हुन लागेको ५ फिल्मको भिडन्तमा कुन-कुन फिल्म बलिको बोका बन्ने हुन् हेर्न बाँकी छ ।
केशब भट्टराईको निर्माणमा शिब रेग्मीले निर्देशन गरेको फिल्म 'सो सिम्पल' प्रतिक्षित फिल्मको लिस्ट पारेको छ । निर्देशक रेग्मीले यसअघि थुप्रै हिट फिल्म दिएकोले पनि यो फिल्म पनि राम्रो बनेको आश गर्न सकिन्छ । फिल्ममा नयाँ अनुहार प्रमोद भारद्धाज र भावना रेग्मी मुख्य भुमिकामा छन् । साथै राजबल्लभ कोईराला र स्वेता भट्टराईको पनि फिल्ममा बिशेष भुमिका रहेको छ ।
बिशेष गरी नायक आर्यन सिग्देललाई यो बर्षको दशैं बिशेष हुनेछ । किनकी उनी अभिनित दुई फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' र 'धुँवा यो नशा' एकै दिन लाग्ने तयारीमा छन् । 'सो सिम्पल' सँगै आर्यनका यि दुई फिल्म पनि कार्तिक ३ गते नै लाग्ने बताईएको छ । गत बर्ष आश गरिएका दुई फिल्मबाट सोचे अनुरूपको प्रतिक्रिया पाउन नसकेका आर्यनलाई यि दुई फिल्मको एकसाथ रिलिजले फेरि अर्को झट्का दिने आशंका गरिएको छ ।
यि तीन फिल्मसँगै दशैंमा हुने लामो बिदाको दाउ हेरेर मिती तय गरेका फिल्महरूमा लूट कम्पनी र नबोलेनी हाँसी राख न पनि रहेका छन् । लूट कम्पनी नयाँ अनुहारहरूले भरिएको फिल्म हो भने नबोलेनी हाँसी राख नमा परिचित अनुहार निखिल उप्रेती, ऋचा सिंह ठकुरीको अभिनय रहेको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार यि पाँच वटै फिल्मका निर्माता, वितरक जुनसुकै हालतमा कार्तिक ३ गते नै फिल्म रिलिज गर्ने भन्दै कम्मर कसेर लागेका छन् ।
यसै त नेपाली फिल्मको व्यापार खस्किरहेको अवस्थामा यसरी आधा दर्जनको संख्यामा फिल्म एकै दिन रिलिज हुँदा त्यसको प्रत्यक्ष मार निर्मातालाई मात्र हैन समग्र उधोगलाई पर्न जान्छ । त्यसैले यस किसिमको भिडन्तलाई रोक्न सम्बन्धित संघसंस्थाले एकपटक अलि राम्रोसँग सोचविचार गर्ने पो हो की !

