भाद्र १ गतेबाट सुटिङ शुरू गरिएको फिल्म 'अप्स एण्ड डाउन` को आज मंगलबार राजधानीको खुलामञ्चमा अन्तिम सुटिङ गरियो । फिल्मका निर्देशक जनक खकुरेलले फिल्मको सुटिङ आजबाट सकिएको जानकारी गराएका हुन् । खुलामञ्चमा एक कन्सर्टको सिन खिचेर फिल्म प्याकअप गरेको निर्देशकले बताए ।
फिल्मको सुटिङ सकिए सँगै फिल्मका मुख्य नायक सुरज सिंह ठकुरीको तस्विर पहिलो पटक सार्वजनिक गरिएको छ । नृत्य तथा द्धन्दमा अब्बल रहेका सुरजले अभिनय पनि राम्रो गरेको निर्माण युनिटको भनाई छ । फिल्मकी नायिका ऋचा सिंह ठकुरीले हिरो नयाँ भएपनि काम धेरै राम्रो गरेको बताईन् । हिरो सुरजले पनि पहिलो पतक फिल्ममा काम गर्दा निकै रमाईलो लागेको बताउँदै आफ्नो तर्फबाट सक्दो मेहनत गरेको बताए ।

सुनिल ढकालले निर्माण गरेको सो फिल्ममा ऋचा र सुरजको साथमा किरण लाकौलको पनि मुख्य अभिनय रहेको छ । प्रेमले जीवनमा ल्याउने उतारचढावलाई मुख्य बिषय बनाईएको उक्त फिल्मलाई सौरभ लामाले खिचेका हुन् । काठमाण्डौमा नै सुटिङ सकिएको सो फिल्ममा मदन गोपालको संगीत तथा सानु कुमारको द्धन्दनिर्देशन रहेको छ । नायिका ऋचाले यो फिल्मलाई आफ्नो करियरको बिशेष फिल्म भएको बताईन् । उनले भनिन्, 'यो फिल्ममा मैले आफ्नो अभिनय क्षमता देखाउन पाएकी छु त्यसैले यो मेरो लागि बिशेष फिल्म हो ।'


