नेपाली फिल्ममा प्रवेशका लागि हिरोईनहरुको संघर्षको कथा बोकेको फिल्म 'कलिउड' को सुटिङ आज मंगलबार देखि शुरू गरिएको छ । पटक-पटक हिरोईन हेरफेरको लफडामा परेका निर्देशक नवराज आचार्यले सो फिल्मको सुटिङ ललितपुर स्थित गोदावारी एरियाबाट सुटुक्क शुरू गरेका हुन् ।
प्रियंका कार्की र आर्यन सिग्देल लिड रोलमा रहेको सो फिल्ममा नयाँ अनुहारहरु विष्णु कार्की र पायल थापा पनि मुख्य भुमिकामा देखिंदै छन् । हिरोईनको कथा माथि अरु फिल्म पनि बन्ने तयारीमा छन् तर ती फिल्म निर्माण अघि नवराजको प्रोजेक्ट शुरू भएको हो । प्रियंका भिजिलान्तेमा ब्यस्त भएकाले निर्धारित समय भन्दा तीन दिन ढिला सुटिङ शुरू उक्त फिल्मको अझै तीन दिन सम्म सुटिङ सोही लोकेशनमा हुने छ ।
भारतमा मोडलिङ तथा एम टिभीबाट प्रशारण भएको एक रियालिटी शोमा काम गरेकी पायल र लामो समयदेखि बिदेशमा रहँदै आएका बिष्णुको साथमा नायिका प्रियंकाले आज पहिलो सट दिए भने आर्यन सिग्देल महसुस फिल्ममा व्यस्त भएकाले उनको सेड्यूल केहि दिन हुनेछैन । निर्देशक आचार्यका अनुसार आर्यनले असोज १ गतेबाट कलिउडलाई समय दिनेछन् । करिब ३५ दिनको सुटिङ सेड्यूल निकालिएको सो फिल्मको अधिकांश सुटिङ काठमाण्डौ उपत्यकामा नै गरिनेछ ।
प्रिजोन इन्टरटेन्मेन्टको व्यानरमा कुमार खड्काले निर्माण गर्न लागेको सो फिल्मको कथा निर्देशक आचार्यकै हो भने पटकथा अनुप सापकोटा र प्रदिप बाँस्तोला तथा संवाद ब्रजेश खनाल र अनुप सापकोटाको रहेको छ । हरि हुमागाईंको छायाँकन रहेको सो फिल्ममा प्रदिप बाँस्तोलाको संगीत रहेको छ ।

