
नायक जीवन लुईटेलले आफू अभिनित फिल्म ब्ल्याक मेलको रहस्य खोलिदिएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर निर्माण युनिटले लुकाउदै आएको कुरालाई जीवनले चुहावट गरिदिएका हुन् ।
नायक जीवनले फिल्म ब्ल्याक मेलमा आफू नेगेटिभ भुमिकामा प्रस्तुत भएको रहस्य आज आयोजित उक्त फिल्मको प्रेसमिटमा खोलेका हुन् । कार्यक्रममा जीवनले फिल्मको रहस्य उदघाटन सँगै आफ्नो जन्मदिनको केक पनि काटे । उपस्थित फिल्मकर्मी र सञ्चारकर्मीको साथमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवको उपस्थितीमा जीवनले आफ्नो ३२ औं बर्ष प्रवेशको केक काटेका हुन् ।
केक काट्नु पूर्व उनले आफ्नो व्यक्तिगत वेभसाईट www.jiwanluitel.com आजबाट सञ्चालनमा आएको जानकारी गराए । उनले सो वेभमा आफ्ना व्यक्तिगत कुराहरूको साथमा आफूले गरेका कामहरूको विवरण र आफ्ना मनका कुराहरू प्रस्तुत गर्ने बताए । पछिल्लो समयको बढ्दो अनलाईन क्रेजलाई आत्मसाथ गर्दै वेभसाईट शुरू गरेको जीवनले बताए । साथै उनले आफू अभिनित फिल्म ब्ल्याक मेललाई मायाप्रेम, द्धन्द तथा संगीतले कोरिएको क्यानभासको संज्ञा दिए ।
कार्यक्रममा प्रमुख अतिथीको रूपमा डाकिएका रामेश्वर रायले जीवन साँच्चिकै हिरो भएको बताउँदै जन्मदिनको शुभकामना दिए । यस्तै उनले फिल्मकी हिरोईन स्वेता भट्टराई कार्यक्रममा उपस्थित नहुँदा खल्लो लागेको पनि बताए । साथै उनले आफूहरू राजनितीको ड्रामा गरिरहेको अवस्थामा फिल्मको कार्यक्रममा उपस्थित हुँदा नौलो अनुभव भएको बताए । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले पनि जीवनलाई शुभकामना दिंदै फिल्मको पनि सफलताको कामना गरे ।
यस्तै निर्देशक मधुसुदन भट्टराईले आफ्नो पहिलो फिल्म भएको बताउँदै हेरेर कमेण्ट गरिदिन आग्रह गरे । कार्यक्रममा फिल्मको अडियो विमोचन पनि गरिएकाले संगीतकार अर्जुन पोखरेलले निकै मेहनत गरेर संगीत तयार पारेको बताए । फिल्ममा जीवन र स्वेताको साथमा सुमन सिंहले पनि अभिनय गरेका छन् ।