
सञ्चारमाध्यममा जानकारी नदिई फिल्म 'सरी ल' को सुटिङ शुरू गरिएको छ । आज शुक्रबार बुढानिलकण्ठ मन्दिरमा पुजाआज गरी मुहुर्त गरिएको सो फिल्मको सुटिङ आजैबाट शुरू गरिएको हो ।
ऋषि लामिछानेले निर्देशन गरेको सो फिल्मको राजधानीको जोरपाटी स्थित चापागाईं स्टुडियोबाट फिल्मको क्यामेरा अन भयो । पहिलो पटक फिल्ममा काम गर्न लागेकी अनिता आचार्यले नै फिल्मको पहिलो सट दिईन् । अहिले नै फिल्मको बारेमा खासै धेरै हल्ला नगर्ने सोच बनाएकाले सञ्चारकर्मीहरूलाई मुहुर्तमा नडाकिएको निर्देशक लामिछानेले बताए । उनले भने, 'यो पटक अलि फरक तरिकाले काम गर्ने सोच बनाएको छु । सञ्चारकर्मीहरूलाई केहि समयपछि फिल्मको बारेमा जानकारी गराईनेछ ।'
अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण शुरू गरेको सरी ल फिल्ममा अनिताको साथमा सुवास थापा, राजन खतिवडा, मार्टिन खान, अञ्जु केसी लगायतले अभिनय गर्नेछन् । करिब ४० दिनको सुटिङ सेड्यूल राखिएको सो फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् भने संगीत बसन्त सापकोटा र शैलेश श्रेष्ठको रहनेछ । यस्तै छायाँकन रामशरण उप्रेतीको छ भने द्धन्दनिर्देशन रोशन श्रेष्ठ तथा नृत्यनिर्देशन बब्बु थापाको रहनेछ ।