
कक्षाकोठामा पढिरहदा एक्कासी पर्दामा देखिरहेका नायकलाई प्रत्यक्ष पाउँदा धरान सिटी कलेजका विद्यार्थी छक्क परे । कलेजका युवा–युवती माझ हट केक नायकहरुको रुपमा रहेका कर्म र विनय श्रेष्ठ आफ्नै माझमा पाउँदा विद्यार्थी उनीहरु माझ झुम्मिएका थिए ।
असोज १२ बाट देशभर रिलिज हुने क्रममा रहेको फिल्म ‘भिसा गर्ल’ को प्रमोशनको लागि धरान आएका यि नायकहरुले धरानका कलेज–कलेज पुगेर फिल्मको जानकारी गराएका हुन् । भारतको दार्जिर्लिङ, सिक्किम हुँदै दमक, इटहरीमा फिल्मको प्रमोशन सकेर भिसा गर्लको युनिट धरान आएको थियो । युनिटमा फिल्मका दुई नायकको अलावा पब्लिसिटी डिजाइनर स्वप्निल आचार्य पनि सहभागी थिए ।
धरानका मोडल कलेज, सिटी कलेज लगायतका कलेज पुगेर त्यहाँका विद्यार्थी माझ ‘यो मन त मेरो नेपाली हो’ कन्टेस्टको आयोजना गरिएको थियो । उत्कृष्ट गीत गाउनेलाई विनय र कर्मले उपहार स्वरुप फिल्मको अडियो सिडी र स्टिकर दिएका थिए । फिल्मको प्रोमो हेरेर नै आफूहरु फिल्म हेर्न प्रतिक्षित रहेको अधिकांश विद्यार्थीले बताएका थिए । कलेज प्रमोशन पछि फिल्मबारे जानकारी गराउन प्रेस मिटको आयोजना गरिएको थियो ।
स्थानीय पत्रकार माझ फिल्मको बारेमा जानकारी दिदै विनय र कर्मले आ–आफ्नो भूमिकाबारे चर्चा गरेका थिए । कुनै पनि कुरामा सम्झौता नगरी हरेक कोणबाट उत्कृष्ट फिल्म बनेको उनीहरुको दाबी थियो । यस्तै दमकमा हिजो सो फिल्मबारे छलफलका लागि पत्रकार सम्मेलनको आयेजना गरिएको थियो । भुटानी शरणार्थीको शिविर रहेको बेलडाँगीमा पुगेर समेत फिल्मको प्रमोशन गर्न युनिट भ्याएका थिए ।
प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको फिल्ममा रेमनदास श्रेष्ठ, ऋचा शर्मा, सलोनीराज भण्डारी, रिमा विश्वकर्मा, मेनुका प्रधान लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्मलाई सिजी ईन्टरटेन्मेन्टले निर्माण गरेको हो ।