
भदौ २९ गते रिलिज हुन लागेको फिल्म बडीगार्डको सम्पूर्ण रिलिज तयारी पूरा भएको छ । बिहिबार काठमाण्डूमा एक कार्यक्रम गरी बडीगार्ड युनिटले रिलिजका लागि हरेक पक्षबाट आफू तयार भएको जनाएको हो ।
अभिनेत्री संचिता लुईटेलको पूर्व पति आकाश शाह अभिनित पहिलो फिल्म बडीगार्ड राजधानीका १९ पर्दा सहित देशभरिका ४८ वटा पर्दामा लाग्ने बताईएको छ । फिल्मको वितरण जिम्मा गोपाल कायस्त (पानपराग) ले लिएका छन् जसले यो फिल्म ईनिसियल रुपमा निकै तगडा रहेको कार्यक्रममा बताए । रेगुलर मेकरको रुपमा चिनिएका सुशिल पोखरेलले निर्माण गरेको सो फिल्मलाई राजेन्द्र उप्रेतीले निर्देशन गरेका हुन् ।
राजेन्द्रले यस अघि केही फिल्म निर्देशन गरेपनि यो फिल्म उनको करिअरको अर्को टर्निङ पोईन्ट हुने उनको विश्वास छ । आफू धेरै बोल्ने भन्दा पनि फिल्म आफै बोल्ने भन्दै निर्माता पोखरेलले फिल्म उत्कृष्ट बनेको दाबी गरे । एक बर्ष अघि बलिउडमा रिलिज भएको सलमान खानको फिल्म बडीगार्डको टाईटलसंग आफ्नो फिल्म टाईटल मेल खाए पनि कथा बस्तुमा त्यस्तो कुनै समानता नरहेको निर्माता पोखरेलको तर्क छ ।
फिल्म पूर्ण रुपमा एक्सन प्रधान छ जसका लागि हिमाल केसीले निकै मिहिनत गरेको कार्यक्रममा जानकारी गराईयो । हरि लम्सालको संगीत समावेश उक्त फिल्म परम्परागत नरहेको सो टिमले जनाएको छ । कार्यक्रममा दिईएको जानकारी अनुसार फिल्मको बजेट ५० लाख हो । 'जव म बिहान उठ्छु तव लाग्छ म फिल्म गर्नकै लागि जन्मिएको हुँ त्यसैले यो फिल्म गर्न पाउनु मेरा लागि खुशीको कुरा हो', नयाँ हिरो आकाशले बताए ।
सिम्पल सेक्सी लेडी सौजन्यले पनि आफ्नो फिल्महरुको लिष्ट केलाउँदा बडीगार्ड विशेष लिष्टमा पर्ने बताएकी छिन् । दिव्वेश्वर गौतम, कृष्ण ढुंगाना, दिपेन्द्र चन्द ठकुरीको पनि मुख्य भुमिका रहेको सो फिल्म देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको छ जसको कथा शिबम अधिकारीले लेखेका हुन् ।