निर्देशक ऋषि लामिछानेलाई आफ्नो पछिल्लो फिल्म 'सरी ल' का लागि हिरोईन फाईनल गर्न निकै संघर्ष गर्नुपर्यो । बिगत लामो समयदेखि हिरोईनको खोजी गरेका ऋषिले अन्तत: अनिता आचार्यलाई आफ्नो फिल्मको हिरोईन बनाउने निर्णय गरे ।
केहि साता अगाडी ऋषिले बर्षा राउतलाई आफ्नो फिल्मको हिरोईनको रूपमा अनुबन्धित गरेका थिए । उनी लामै समय फिल्मको वर्कशपमा पनि सहभागी बनिन् तर अन्तिम समयमा आएर सरी भनि दिएपछि ऋषिले पुन: हिरोईनको झमेला सहनु पर्यो । तर अब उनी ढुक्क छन् कि अनिताले पूर्ण साथ दिने कुरामा । ऋषि भन्छन्, 'अब त अलि बलियो गाँठो नै बनाएर अनितालाई फाईनल गरेको छु ।'
अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गर्न लागेको सो फिल्ममा ऋषिले सुवास थापा र राजन खतिवडालाई मुख्य भुमिकामा अनुबन्धित गरि सकेका छन् भने बानेश्वर स्थायी घर भएकी व्याचलर हिरोईन अनिताले केहि दिन अगाडी मात्र अनुबन्धित गरेका हुन् । फिल्ममा मार्टिन खानलाई पनि अनुबन्धित गरेको ऋषिले बताए । थिएटरका कलाकारलाई मुख्य भुमिकामा उतारेर फिल्म बनाउन लागेका ऋषिले आफ्नो खोज फिल्मका लागी उपयुक्त भएको बताए ।
भाद्र २२ गतेबाट सुटिङ शुरू हुने बताईएको सो फिल्मको अहिले वर्कशप नै चलिरहेको छ । अनामनगरमा नयाँ हिरोईनमा अनुबन्धित भएकी अनितालाई ऋषिले फिल्मी भाषा पढाई रहेका छन् भने कास्टिङ डिरेक्टर तथा कलाकार राजन खतिवडाले उनलाई सहयोग गरिरहेका छन् । बालकलाकारको रूपमा रोशन महर्जन पनि यहि फिल्मबाट प्रवेश गर्दैछन् । यस्तै फिल्मकी प्रस्तुतकर्ता अञ्जु केसी पनि फिल्मको मुख्य भुमिकामा रहनेछिन् ।
फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् भने संगीत बसन्त सापकोटा र शैलेश श्रेष्ठको रहेको छ । यस्तै छायाँकन रामशरण उप्रेतीको हुनेछ भने द्धन्दनिर्देशन रोशन श्रेष्ठ तथा नृत्यनिर्देशन बब्बु थापाको रहनेछ ।