
फिल्मको नाम आउनासाथ सबैभन्दा शुरूमा क्याप्टेन अर्थात निर्देशकको नाम आउँछ । हरेक फिल्मको कार्यक्रममा सो फिल्मसँग सम्बन्धित निर्देशक उपस्थित भएकै हुन्छन् तर मंगलबार गरिएको फिल्म 'फेसबुक' को प्रेसमिटमा भने निर्देशक सुरज सुब्बा 'नाल्बो' उपस्थित नै भएनन् ।
करिब साढे ६ बजे तिर शुरू गरिएको कार्यक्रममा फिल्मका निर्देशक नै उपस्थित नभएपछि पत्रकारहरू बिच कानेखुसी र गाईंगुईं चल्यो । कार्यक्रम अवधिभर नै निर्देशन नआउनुले निर्माता र निर्देशक विच मनमुटाव भएको त हैन भन्ने आशंकाको घेरोमा सञ्चारकर्मीहरू रहे । यो बिषयमा नायिका झरना थापासँग बुझ्दा उनले आफूलाई केहि थाहा नभएको प्रतिक्रिया दिईन् । उता निर्माता सुनिल कुमार थापाले भने पारिवारिक कारणले आउन नसकेको बताए ।
निर्देशक सुब्बा कार्यक्रममा उपस्थित नभएपनि निर्माता, कलाकार तथा प्राबिधिकको भने उपस्थिती थियो । फिल्मका मुख्य पात्र स्वतन्त्र प्रताप शाहले स्वागत मन्तव्य दिनु पूर्व निर्माण युनिटले सबै सञ्चारकर्मी तथा आमन्त्रित अतिथीहरूलाई खादा ओढाएर सम्मान गर्दै स्वागत गरेका थियो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल कान्छा फोटो ग्राफर रिरेन्द्र श्रेष्ठले फिल्मको अडियो सिडी सार्वजनिक गरेपछि कार्यक्रमलाई अगाडी बढाईएको थियो ।
सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा बोल्दै नायक शाहले अभिनय आफ्नो रहर मात्र नभएर 'प्यासन' समेत रहेको बताए । आफूलाई फिल्ममा ल्याउन सहयोग पुर्याउने निर्माता तथा निर्देशकलाई उनले बिशेष धन्यवाद दिए । यता फिल्मकी प्रस्तुतकर्ता तथा नायिका झरना थापाले फिल्म राम्रो बनेको बताउँदै हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । फिल्मले केहि संदेश बोकेको भन्दै हरेक व्यक्तिले एकपटक यो फिल्म हेर्नै पर्ने बताईन् । यस्तै फिल्मका अर्का मुख्य पात्र सुवास थापाले यो फिल्म आफ्नो करियरमा कोशेढुंगा हुने बताए । कार्यक्रममा कलाकार विएस राणा, अनुराग मान सिंह कुवँर, मार्टिन खान र सुमन गैरेले फिल्म र आफ्नो भुमिकाको बारेमा प्रस्ट्याएका थिए ।
पछिल्लो समय हाँस्यकलाकारको रूपमा बढि परिचित भएका विल्सन विक्रम राईले शुरूमा उपस्थित सबै दर्शकलाई हसाउँदै फिल्म राम्रो बनेको बताए । तर जब उनको बोलीमा केहि भावनात्मक कुरा जोडिंदै गए उपस्थित सबै एक पटक स्तब्ध भए । सानैमा आफ्नी आमालाई गुमाएका विल्सनले बाबुको सपना पूरा गर्न संघर्ष गरिरहेको बताए । उनले भने, 'बाबाले मलाई तिमी धर्तिको तारा बन्नु ताकी तिम्रो आमाले आकाशबाट ताराको रूपमा रहेर हेर्नेछिन् ।' आफ्नी आमाको पनि सपना छोरोले नाम कमाओस् भन्ने रहेको बताउँदै विल्सनले अहिले आमा भएको भने निकै खुसी हुने बताए ।
निर्माता सुनिल कुमार थापाले फिल्म राम्रो बनेको बताउँदै सञ्चारकर्मीहरूको तर्फबाट सहयोगको अपेक्षा राखेको बताए । करिब ५ बर्ष पछि फिल्म निर्माणमा फर्किएको बताउँदै निर्माता थापाले लामो समय बिश्राम लिनुको कारण उधोगबाट केहि 'फ्रस्टेड' भएको बताए । आगामी दिनमा फिल्म निर्माणमा सक्रिय भएर लाग्न सञ्चारकर्मीहरूको साथ र सहयोग चाहिने उनले बताए । निर्माता थापाले बोलेपछि कार्यक्रमलाई बिश्राम दिंदै रात्री भोजमा सम्पूर्ण आमन्त्रित पत्रकार तथा अतिथीहरूलाई सहभागी गराईएको थियो ।
जब रात्रि भोज सकिनै लागेको थियो निर्देशक सुब्बा टुप्लुक्क देखा परे । सुब्बाको आगमन अब हुँदैन भने लख काटिरहेका बेला उनी आउँदा सबै चकित पनि भए । आखिरमा सुब्बा कार्यक्रम सकिएपछि आउनुको कारण के थियो त ? फिल्मीखबरले जिज्ञासा राखे लगत्तै सुब्बाले आफ्नी जीवनसंघिनी बिदेशबाट नेपाल आएकाले विमानस्थल जानु परेकाले ढिला भएको बताए । उनले भने, 'श्रीमतीलाई घर छोडेर आउँदा आउँदै ढिला भयो ।' ढिलै आए पनि उनको आगमनले केहि बाँकी रहेका सञ्चारकर्मीलाई फिल्मको बारेमा अझ नजिकबाट बुझ्न सहज भएको थियो ।
अन्य फिल्मको भन्दा केहि फरक किसिमले गरिएको उक्त प्रेसमिट कार्यक्रममा फिल्मका अधिकांश कलाकार तथा निर्माता निर्देशक फिल्मको 'करल थिम' अर्थात निलो ड्रेसमा उपस्थित भएका थिए । यस्तै कार्यक्रममा सञ्चारमाध्यमा अहिले सम्म प्रस्तुत नगरिएका फिल्मका केहि झलक देखाईएको थियो । फिल्म भाद्र २२ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।