
भदौ महिनालाई ट्याग दिने हो भने यो महिना सेलिब्रेटी बर्थ डे महिना हो । भदौ ४ मा अरुणिमा लम्सालको बर्थ डे देखि सुरु भएको सेलिब्रेटीको बर्थ डे लहर अझै जारी छ । भदौ ५ मा रेखा थापा र निर्देशक शिव रेग्मीकोको बर्थ डे थियो भने ७ गते दीपाश्री निरौलाको । यसैगरी भदौ १५ राजबल्लभको बर्थ डे थियो भने आज भदौ १९ गते निर्देशक प्रशन्न पौडेलको बर्थ डे हो ।
यो महिनाको २६ गते अर्का हिरो राज तिमिल्सनाको पनि बर्थडे हो । 'बिहान ४ बजे उठेर म सात घण्टाको ट्रेन मार्फत मामाघर वासिङटन डिसी पुग्दैछु जहाँ मैले केक काट्ने छु', नर्थक्यरोलिनाबाट टेलिफोन सम्पर्कमा प्रशन्नले भने । प्रशन्नले पच्चिस बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका आफ्ना मामा सुमनराज तिमिल्सनाको परिवारसंग बर्थ डे मनाउन लागेका हुन् । 'मैले मामालाई सानोमा एक पटक देखेको थिए अनि दश महिना अघि दोस्रो पटक र आज तेस्रो पटक भेट्दैछु त्यो पनि बर्थ डेको दिनमा', प्रशन्नले भने ।
हिरो रेश मरहठ्ठसंग मिलेर तेस्रो फिल्मको रुपमा ईलाभेन्थ स्ट्रिट निर्देशनका लागि दुई महिना अघि अमेरिका गएका उनी असोज दोस्रो साता नेपाल आईपुग्ने छन् । म्यूजिक भिडियो निर्देशनमा पूर्ण सफलता पाएपछि फिल्म निर्देशनमा हात हालेका उनले पहिलो फिल्म स्वरबाट चर्चा अनुरुपको अपेक्षित सफलता पाएनन् तर दोस्रो फिल्म मेरो बेष्ट फ्रेन्डबाट त्यो सफलताको चुचुरो चुम्नेमा उनी विश्वस्त छन् । उनी भन्छन्, 'स्वरबाट जे जस्तो प्रतिक्रिया आए पनि मेरो बेष्ट फ्रेन्डको रिजल्ट राम्रो आउने विश्वास छ मलाई ।'
आजबाट ३३ बसन्तमा टेकेका उनी नेपाल फर्किनासाथ ईलाभेन्थ स्ट्रिटको पोष्ट-प्रोडक्सन र मेरो बेष्ट फ्रेन्डको रिलिज प्रोमोशनमा ब्यस्त हुनेछन् ।