
माता मनकामना प्रोडक्शनको ब्यानरमा निर्मित फिल्म फुलस्टपले शुक्रबार सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको छ । चपली गर्ल बिनिता बराल र सविन श्रेष्ठको रोमान्सलाई अब १६ बर्ष मुनिका दर्शकले हेर्न नपाउने भएका छन् ।
फिल्मलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेटको साथै नेपालकै सबैभन्दा राम्रो सस्पेन्स थ्रिल फिल्मको उपमा दिएको फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मीखबरलाई बताए । सेन्सरले एडल्ट सर्टिफिकेटसँगै सर्त राखेको छ जसमा निर्माण युनिटले फिल्मको शुरुवातमा प्रस्तुत फिल्म थ्रिल भएको र १६ बर्ष भन्दा कम उमेरकाको लागी निषेध गरिएको चेतावनी लेख्नु पर्नेछ । तर फिल्ममा समाबेस गरिएको कुनै पनि दृश्यहरु काट्नु पर्ने छैन ।
प्राय नेपाली फिल्मका समग्र कथा सबैको उस्तै हुन्छन् तर फुलस्टपको प्रस्तुती र एक्शनमा केही नयाँपन रहेको निर्माता श्रेष्ठले बताए । फिल्मलाई कमलकृष्ण पौड्यालले निर्देशन गरेका हुन् । मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनीज्योती गुभाजुले संयुक्त रूपमा निर्माण गरेको सो फिल्ममा कमलकृष्णको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, साईमन राजबंशीको करियोग्राफी, चन्द्र पन्तको द्धन्द तथा नम्सको लेखन रहेको छ ।