
गीता जी, गीता बहिनी, गीता दिदी यि यस्तै आवाजले गीता नेपाललाई सवैले खोजिरहेका हुन्छन् । चाहे त्यो प्रोडक्सन म्यानेजर हुन वा निर्देशक वा निर्माता अनि भनौ सुटिङ सेटमा उपस्थित अन्य टिम सवैको प्यारी बनेकी छिन् गीता नेपाल ।
विगत सात बर्षदेखि फिल्मका लागि आवश्यक क्राउड ल्याउने जिम्मेबारी हेरिरहेकी २७ बर्षे गीताले एक पटकमा झण्डै हजारको संख्यामा क्राउड उपस्थित गराएर आफ्नो कार्यक्षमता पनि देखाईसकेकी छिन् । उनले सात बर्षको अवधिमा हाई बजेट देखि लो बजेटका झण्डै ४ सय वटा फिल्ममा क्राउडकी नाईके बनेर काम गरिसकेकी छिन् । 'कलाकार बन्ने सपना बोकेर हिडेका हजारौं मनहरुलाई उनले सजिलै बुझ्न सक्छिन् त्यसैले उनको क्षमताको म बर्णन गर्न सक्दिन', निर्माता एवं वितरक नरेन्द्र महर्जनले उनको बिषयमा तर्क दिदै उनलाई सोही कारणले हजारौं मनको चाहना बुझ्ने विज्ञ भनी संज्ञा समेत दिएका छन् । फष्टलभमा गीताले ल्याएको सात सय क्राउड देखिनै अर्का निर्माता माधव वाग्लेले पनि उनको कार्यक्षमताको मूल्याकंन गरिसकेका थिए । त्यसैले उनी पनि भन्छन्, 'गीतामा लिडिङ क्यापसिटी प्रशस्त छ ।'
भर्खरै मात्र समय भन्ने फिल्मममा काम गरेकी गीता काभ्रेपलाञ्चोक महादेवस्थानकी स्थायी बासिन्दा हुन् । उनी हाल काठमाण्डौ कपनमा श्रीमान् र दुई छोरीका साथ बस्ने गर्छिन् । उनको श्रीमान् ग्रुप ४ सेक्यूरेटी बाग्मती अञ्चल हेर्ने सुपर भाईजर हुन् । 'तपाईको फोन धेरै नै आईरहन्छ होला नि भन्ने प्रश्नमा गीता भन्छिन्, 'स्वीच अफ नगरुन्जेल सम्म आईरहन्छ ।' उनलाई दिनमा हजारौ कल आई रहन्छ किनकी उनी क्राउडकी रानी हुन् । कति बेला कुन फिल्मको यूनिटमा कति क्राउड चाहिन्छ उनले रातको एक बजे पनि सजिलै चाहिए जति क्राउड उपस्थित गराईदिन्छीन् । ब्याच नम्बर १६ को सुटिङ समयमा राति एक बजे क्राउड भेला गरेको अझै पनि उनलाई याद छ त्यो दिन उनले आफू यो पेशामा पूर्ण सफल भएको पनि महसुस गरेकी थिईन् ।
सात बर्ष अघि छायाँ भन्ने फिल्मको सुटिङ सेटमा अचानक पुगेपछि उनको भेट प्रोडक्सन कन्ट्रोलर शंकर पाण्डेसंग भएको थियो जसको माध्यमबाट उनी यो पेशामा आएकी हुन् । उनले भनिन्, 'मेरो भिनाजुको साथी हरि पाठक जो छायाँ फिल्मको निर्माता हुनुहुन्थ्यो हो उहाँको कारण त्यो फिल्मको सुटिङ हेर्न गएको थिए अनि शंकर दाईसंग भेट भयो अनि क्राउड जम्मा गर्न शुरू गरेकी हुँ ।' छायाँ फिल्म रिलिज भएन तर उनले औपचारिक रुपमा हात हालेको 'मेरो एउटा साथी छ' ले निकै चर्चा बटुल्यो । त्यस पश्चात उनी क्राउडकी रानी भएर चिनिएकी हुन् । जुनियर कलाकार अर्न्तगत पर्ने उनको काम एकल प्रयासमा भईरहेको छ । जसका लागि उनी जुनियर कलाकार संघ खोल्ने तयारी पनि गरिरहेकी छिन् ।
'एकल प्रयासले कतिन्जेल खट्ने त्यसैले म अध्यक्ष बस्ने गरी जुनियर कलाकार संघ खोल्ने तयारी गरिरहेको छु', गीता भन्छिन् । क्राउडलाई नियन्त्रण गर्ने क्षमताको मुल्याकंन भएपछि उनीले फ्लोरमा जान लागेको फिल्म बसपार्कमा प्रोडक्सन कन्ट्रोलरको पनि जिम्मेबारी पाएकी छिन् । यसैगरी एक करोड बजेटमा निर्माण हुन लागेको दुर्गिस फिल्मको नयाँ प्रोजेक्टमा पनि प्रोडक्सन कन्ट्रोलरको जिम्मेवारी पाउने सम्भवाना धेरै रहेको उनले बताएकी छिन् । यो सात बर्षको अवधिमा उनले उपलब्धी हासिल गरिरहेकी छिन् तर आफूलाई जसले यो पेशामा उभ्याउन सफल भयो उसैसंग झगडा परेकोले उनी केही निराश छिन् ।
मायाज बारेको सुटिङ समयमा क्राउडसंगको 'मिसअण्डरस्ट्याण्डिङ' ले उनले गडफादर शंकर पाण्डेसंगको दोस्ती गुमाउनु पर्यो । उनी भन्छिन्, 'हाम्रो बोलाचाल नभएको तीन महिना भैसक्यो ।' नेपाली फिल्म रिच नदेखिनुको कारण पर्याप्त क्राउड प्रयोग नगर्नु पनि एक प्रमुख कारण हो जुन कारणलाई मध्यनजर गर्दै गीताले एकल प्रयासले उधोगका लागि योदान दिईरहेकी छिन् । उनी नेपाली फिल्म उद्योगमा एक मात्र त्यस्तो ब्यक्ति हुन् जसले हरेक बर्गका क्राउड उपस्थित गराएर फिल्ममेकरहरुलाई सहयोग गरिरहेकी छिन् ।
'मलाई जस्तो भन्छन् म त्यस्तै ल्याईदिनसक्छु त्यसैले यहाँ रेट पनि फरक फरक छ', उनी भन्छिन् । उनले एउटा क्राउडका लागि दैनिक पाँच सय चार्ज लिने गर्छिन् जस मध्ये डेढ सय राखेर बाँकी उनले उक्त क्राउडलाई दिने गर्छिन् । 'पचास रुपैया त फोनमै जान्छ बाँकी एक सय मेरो पसिना', उनले भनिन् । उनले सूर्य-चन्द्र भन्ने फिल्ममा ६ दिन र १८ दिनको सानो बच्चा समेत ल्याएर आफ्नो क्षमता देखाईदिएकी छिन् । उनले फोर्स भन्ने फिल्मका लागि एउटा क्राउडलाई एकै दिन ८ हजार सम्म तिरेकी छिन् भने न्यूनतम ३ सय सम्म ।
पत्रकारिताको विद्यार्थी समेत रहेकी गीताले काम गरेका केही चर्चित फिल्महरुमा शासन, काठमाण्डू, बाटो मुनिको फुल, किन लाग्छ माया, आचार्य, हाईवे, सायद रहेका छन् भने रिलिज हुन बाँकी रहेका फिल्महरूमा मेरो भ्यालेन्टाईन, प्रमिश पनि पर्दछन् । उनी यो पेशामा आउनु अघि एक साप्ताहिक पत्रिकामा सम्वाददाता पनि थिईन् भने थुप्रै फिल्ममा छोटो-छोटो अभिनय पनि गरेकी छिन् ।