
पाँच प्रतिशत सुटिङ अझै बाँकी छ तर लगातारको बर्खे झरीले सुटिङ लम्बिएपछि ढुवानी यूनिट आज काठमाण्डू फर्किएको छ । क्यामेरापर्सन पुरूषोत्तम प्रधानको २५ दिने एग्रिमेन्ट सकिएपछि ढुवानी टोली बाँकी काम थाती राख्दै काठमाण्डू फर्किएको हो ।
३० जनाको टोलीको साथ ३० दिन अघि नेपालगञ्ज सुटिङका लागी निस्किएको उक्त टोलीले नेपालगञ्जका विभिन्न स्थानमा फिल्म खिचेको थियो । 'अब ईन्डियाको हैदरावाद स्थित रेलको सिन र जनकपुर फर्किदै एक सिन सहित एउटा गित खिचेपछि फिल्म प्याकअप हुन्छ', काठमाण्डू फर्किपछि निर्माता मन्जिल श्रेष्ठले फिल्मीखबरलाई जानकारी गराए । पिताम्बर पाण्डेको निर्देशनमा बनेको उक्त फिल्ममा किशोर खतिवडा, प्रविन खतिवडा, धिरेन्द्र राज थापा, अनुजा गायक, श्रृष्टी शाही लिड रोलमा छन् ।
'मेरो पच्चिस दिनको एग्रिमेन्ट भएपनि ३० दिन टाईम दिने सहमति थियो त्यसैले समय सकिएकाले काठमाण्डू फर्किएका हौं', अत्यन्त ब्यस्त र उद्योगमा निकै रुचाईएका पुरुले बताए । निर्देशक दीपेन्द्र के. खनालसंगको एग्रिमेन्ट अनुसार हिजो बिहिबार देखि भिजिलान्ते सुरु हुनु पर्ने हो तर काठमाण्डू फर्किन पुरुलाई टाईम लागेपछि भिजिलान्तेको सुटिङ तीन दिन पर धकेलिएको छ ।
भिजिलान्ते यूनिटले फिल्मीखबरलाई दिएको जानकारी अनुसार अब दश गते देखि सुटिङ सुरु हुने छ । नेपालमा पहिलो पटक थ्रीडी फमर्याटमा खिचिन लागिएको उक्त फिल्म प्रि–प्रोडक्सन देखि नै चर्चामा रहेकाले यो फिल्ममाथि समग्र फिल्म उद्योगको नजर छ । 'पुरु उता विजी भए पनि एक हप्ताको टाईम निकालेर हामी बाँकी सुटिङ सकिहाल्छौं अनि पोष्ट-प्रोडक्सनमा विजी हुनेछौं', ढुवानी निर्माता श्रेष्ठको भनाई छ । निर्माता श्रेष्ठका अनुसार ३० दिन सम्मको सुटिङमा फिल्मको बजेट ४० लाख नाघिसकेको छ ।