
नसिब आफ्नो, नाइ नभन्नु ल र म तिम्रो भईसकें जस्ता फिल्म मार्फत सुपरहिट गीत स्रोतादर्शक सामु ल्याएका निर्देशक विकाश आचार्यको पछिल्लो फिल्म 'रिदम' को अडियो गीत फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ ।
बसन्त सापकोटाले संगीत भरेको सो गीतमा डा. कृष्णहरि बरालको शब्द रहेको छ भने स्वर स्वरूपराज आचार्य र रजिना रिमालले दिएका छन् । निर्देशक आचार्यले आफ्ना अघिल्ला फिल्मका गीतलाई जसरी स्रोतादर्शकले रूचाईदिए त्यसैगरी यो गीतलाई पनि रूचाउने बिश्वास व्यक्त गरेका छन् । यता संगीतकार सापकोटाले पनि आफ्नो करियरमा यो गीतले पनि ठूलो भुमिका खेल्ने बताउछन् ।
कार्तिक २४ गते रिलिज हुने बताईएको सो फिल्मको अहिले सम्पादन कार्य भईरहेको छ । जीवन लुईटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह, बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको छ । वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले निर्माण गरेको यो फिल्मले राष्ट्रप्रेमको कथालाई बुन्दै प्रेमकथालाई मुख्य बिषय बनाएको छ जसको लेखन निर्देशक आचार्यले नै गरेका हुन् ।
शम्भु सापकोटाको छायाँकन रहेको सो फिल्ममा रोशन श्रेष्ठको द्धन्दनिर्देशन, नृत्य कविराज गहतराज तथा सम्पादन अर्जुन बिसीको रहेको छ । देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको फिल्ममा जम्मा चार वटा गीत राखिएको छ ।
गीत सुन्न यहाँ क्लिक गर्नुहोला - http://www.filmykhabar.com/audio/?sort=ra&search=rhythm