एक बर्ष पश्चात आइ एम सरी जोडी पुन: एउटै सेटमा देखिएका छन् । आज देखि सुटिङ सुरु भएको कल्याण घिमिरेको नयाँ फिल्म 'महसुस' को सुटिङ सेटमा उनीहरु आउदो ३५ दिन सम्म सँगै देखिने छन् ।
पहिलो दिनको लोकेशन गोदावारी तय गरेको उक्त यूनिटमा आर्यन र केकी पुन जोडी भएर दर्शकमाझ देखा पर्न लागेका हुन् । यध्यपी यो केमेष्ट्रीमा बेनिशा हमाल पनि थपिएकी छिन् । तसर्थ फिल्ममा कस्तो ट्विष्ट आउँछ त्यसका लागि रिलिज मिती नै कुर्नुपर्ने हुन्छ । श्रीमान फिल्मको रिलिजबाट कमाएको ७० लाख लगानी यो फिल्ममा लगाउने तयारी गरेका कल्याण घिमिरेले आर्यन सिग्देलको करिअरकै सवैभन्दा उत्कृष्ट स्क्रिप्ट आफ्नो भनेका छन् । उनले भने, 'अहिले क्यारेक्टर खोल्न मिल्दैन त्यसैले फिल्म रिलिज हुँदा थाहा हुन्छ आर्यनजीले न त हिजोको दिनमा यस किसिमको रोल गर्नु भएको थियो न भोलि पाउनु हुनेछ ।'
साथ क्रिएसनको ब्यानरमा निर्माण सुरु भएको महसुस सोसल ड्रामा शैलीको फिल्म हो जसमा नीर शाह तथा मिथिला शर्माको साथमा रश्मी भट्ट पनि केन्द्रिय भुमिकामा रहने छन् । 'मेरो फिल्ममा एक थप्पड झापड हानेको सिन पनि छैन तर गीत तीन वटा छ', निर्माता घिमिरेले बताए । यस अघिको आफ्नो फिल्ममा केन्द्रिय भुमिका निर्वाह गरेका घिमिरे महसुसमा भने नदेखिने भएका छन् । उनले हाँस्दै भने, 'म खेल्ने भएपछि आर्यनजीले नखेल्ने भन्नु भयो अनि नखेलेको हुँ ।'
गीत बाहेकका सम्पूर्ण लोकशन राजधानी तय महसुसलाई रेड क्यामेराबाट दिब्यराज सुवेदीले खिच्ने छन् भने निर्देशक नवल नेपाल पनि श्रीमानबाटै दोहोरिएका हुन् । हाल सम्म कोरियोग्राफर फाईनल नगरिएको महसुसको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् ।

