चलचित्र पत्रकार संघ सर्लाही–महोत्तरी शाखाले जिल्लाका रंगकर्मीहरुलाई सम्मान गर्ने भएको छ । शाखाले रंग क्षेत्रमा क्रियाशिल सर्लाही र महोत्तरीका रंगकर्मीहरुलाई सम्मान गर्न लागेको हो ।
आउँदो कार्तिकमा एक कार्यक्रमको आयोजना गरेर रंगकर्मीहरुको सम्मान गरिने चलचित्र पत्रकार संघ सर्लाही–महोत्तरी शाखाले जनाएको छ । रंगकर्मी सम्मान कार्यक्रम सफल बनाउन गर्नुपर्ने तयारीका विषयमा छलफल गर्न शाखाको कार्य समिति बैठक मंगलवार महोत्तरीको गौरीवासमा बसेको छ । बैठकले आवश्यक आर्थिक श्रोत जुटाउने, विभिन्न ठाउँमा क्रियाशिल महोत्तरी र सर्लाहीका रंगकर्मीहरुको नामावली संकलन गर्ने लगायतका कार्यक्रम सफल बनाउनका निम्ति गर्नुपर्ने पुर्व तयारीका काममा आजैदेखि संघका सवै सदस्यहरु सक्रिय भएर लाग्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले संघमा आवद्ध नभएका सर्लाही र महोत्तरीमा क्रियाशिल रंग पत्रकारहरुलाई संघमा आवद्ध हुन अनुरोध समेत गरेको छ । सम्मान कार्यक्रम महोत्तरीमा गर्ने की सर्लाहीमा गर्ने भन्ने विषय भने आजको बैठकमा टुंगो नलागेका शाखाका अध्यक्ष चन्द्र राईले जानकारी दिए । यहि भदौ २३ गते अर्को वैठक बसेर यस विषयको टुंगो लगाइने उनले बताए ।
रंगकर्मी सम्मान कार्यक्रममै शाखाले चलचित्र पत्रकारिताको क्षेत्रमा राम्रो कलम चलाए वापत रेडियो सर्लाहीका चलचित्र पत्रकार मनिष कार्कीलाई ५ हजार १ रुपैँया राशीको चलचित्र पत्रकारिता पुरस्कार प्रदान गदैछ । गएको जेठ ७ गते संघको स्थापना दिवसको दिन बसेको शाखाको बैठकले चलचित्र पत्रकारिताको क्षेत्रमा राम्रो कलम चलाउने एक जनालाई बर्षेनी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।