
भाद्र २२ गते नेपालमा रिलिज हुन लागेको फिल्म 'फेसबुक' लाई आज अष्ट्रेलियामा प्रिमियर गरिंदैछ । अष्ट्रेलियाको शहर ब्रिस्बेनमा स्थानिय समयअनुसार साँझ ४ बजे रेडकार्पेट प्रिमियर गरिन लागिएको हो ।
अष्ट्रेलियामा स्थापना गरिएको फिल्म डिष्ट्रिब्युसन कम्पनी WE2 ले फिल्मको प्रिमियर शो आयोजना गरेको हो । सो कम्पनीलाई फेसबुक हिरो स्वतन्त्र प्रताप शाह सहितका केही नेपालीहरू मिलेर स्थापना गरेका हुन् । आजको प्रिमियरमा फिल्मका नायक शाह बिशेष आकर्षणको केन्द्र बन्नेछन् ।
गत महिना कोरियामा प्रिमियर गरिएको सुरज सुब्बा निर्देशित यो फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा स्वतन्त्रको साथमा राजेश हमाल, झरना थापा, सुनिल थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा, अनुराग मान सिंह कुवँर, मार्टिन खान, विल्सन विक्रम राई, सुमन गैरे लगायतले अभिनय गरेका छन् । फिल्म फिल्मलाई निर्देशक सुब्बाले नै लेखेका हुन् भने संगीत सुनिल बर्देवा, द्धन्द रोशन श्रेष्ठ, छायाँकन संजय लामाको रहेको छ ।
आगामी आईतवार सिड्नीमा ब्ल्याक मेल प्रिमियर
यस्तै आगामी आईतवार अष्ट्रेलियाकै अर्को शहर सिड्नीमा अर्को नेपाली फिल्म 'ब्ल्याक मेल' को प्रिमियर गरिने भएको छ । नेपाल मदर फाउन्डेसनले नेपालका सडक बालबालिकाको लागि चलाइरहेको 'डे केयर सेन्टर' लाई व्यवस्थित गर्न सहयोग स्वरूप आयोजना गर्न लागिएको सो प्रिमियरलाई +977 ले आयोजना गरेको हो । फिल्मको प्रिमियरका लागि बिक्रि भएको हरेक टिकटको ५ डलर 'डे केयर सेन्टर' लाई दिईने आयोजकको भनाई छ ।
+977 ले नेपाली फिल्म र गीतसंगीतलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेकाले पनि पहिलो प्रयास स्वरूप ब्ल्याक मेलको प्रिमियर गर्न लागिएको म्यानेजिङ डाईरेक्क्टर कुशल केसीले फिल्मीखबरलाई जानकारी दिए । जीवन लुईटेल, सुमन सिंह र स्वेता भट्टराई स्टारर फिल्म 'ब्ल्याक मेल' लाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । सस्पेन्स शैलीको उक्त थ्रील फिल्मलाई सरद अधिकारीले निर्माण गरेका हुन् । यो फिल्म नेपालमा भाद्र २९ गते रिलिज गरिंदैछ ।