
क्याप नयाँ जस्तो देखिन्थ्यो तर उनको गेटअप भने पुरानै हो । धेरै पछि आर्यन सिग्देलले आफूलाई मनपर्ने डिजाईनको लक्की क्याप प्रयोग गरेका छन् ।
हुन त आर्यनलाई अब पनि भाग्यले साथ दिएन भने उनी सम्भावना बोकेका हिरो भएर पनि नचल्ने अवस्थामा छ । किन किन उनीद्धारा अभिनित पछिल्ला केही फिल्मले अपेछित विजनेस गर्न सकेनन् । जसरी अहिले एक था टाईगरमा सलमानको अभिनय भन्दा पनि उनलाई हेर्नका लागि मात्र दर्शक हल सम्म गईरहेका छन् सोही अनुरुप कलिउडका यि नयाँ बाघको हकमा पनि सोही नियम केही हद सम्म लागु भएको देखिन्छ ।
शनिबार पुतलीसडक चौक स्थित क्वेष्ट टावरमा ग्रुप वन क्रिएसनको डान्स सेन्टर उद्घाटनका लागि उनी पुरानो लक्की क्यापमा आएका थिए । जिन्स गेटअपमा देखिएका आर्यनले विगत दुई बर्षदेखि सो प्रकृतिको क्याप लगाउन छाडेका थिए । कुनै समय बाबुराम क्याप भनेर परिचित उक्त क्यापलाई ईन्टरटेन्मेन्ट दुनियामा भने आर्यन क्याप भनेर पनि भन्ने गरिन्थ्यो । फष्ट लभको प्रिमियर देखि सो क्याप लगाउन छाडेका आर्यनले दुई बर्ष पश्चात पुरानो डिजाईनको आफ्नो क्यापलाई दोहोर्याएका हुन् ।
सो क्याप नलगाउदा आर्यनले आलोचना तिब्र खेपे भने उनको फिल्म संख्या पनि घट्न पुग्यो । सायद यहि कुरालाई मध्यनजर गरेर होला आर्यन आफ्नो लक्की क्यापमा फर्किएका । हुनत आर्यनलाई क्याप लगाउने रहर छैन किनकी क्याप लगाउनुको उनको बाध्यता हो । उमेर ढल्केसंगै उनको कपाल झरेकाले उनले क्याप लगाउन थालेका हुन् । क्याप प्रयोग नगर्दा उनी नक्कली कपालको साहारा लिने गर्थे ।
'मेरो स्ट्रगल फेजमा म बागबजार र पुतलीसडकका गल्लीमा डान्स ईन्सच्युट खोज्न भौतारिरहन्थे तर आज यहि ठाँउमा आफूले उद्घाटन गर्न पाउदा खुशी लागिरहेको छ', आर्यनले रिवन काटे पश्चात भने । अभिनयमा अब्बल आर्यनले आफूलाई डान्स गर्न नआउने सो कार्यक्रममा बताए । फिल्मक्षेत्रमा प्रवेश गर्ने नयाँ अनुहारलाई लक्षित गरि सञ्चालनमा आएको उक्त कल्चरमा भारतीय सोनि टेलिभिजनको कार्यक्रम बुगीबुगीको कोरियोग्राफर दीपक परियार, जीटिभी डान्स ईन्डिया डान्स सिजन २ का नरेश वीर सिंह तथा साईमन राजबंशीले डान्सका विभिन्न स्टेप सिकाउने छन् ।
कार्यक्रममा दिएको जानकारी अनुसार सो कल्चरमा फ्रि स्टाईल, बेसिक, कल्चर, मोर्डन सहित साल्सा, बलिउड स्टाईल, लाईट क्लासिकल, ईन्डियन फोल्क, हिपहप, विबोईङ, कन्टेम्पोररी, वेष्टर्न फ्रि–स्टाईल, लकिङ एण्ड पकिङ, हिट एण्ड मेल्ट, क्रम्पिङ कोर्ष रहेका छन् । उद्घाटन समारोहमा कलिउडका निर्देशक नवराज आचार्य, सोही फिल्मका संगीतकार प्रदीप बाँस्तोला, गायिका निशा सुनुवार, हिरोईन रंजिता गुरुङ, कोरियोग्राफरद्धय कविराज र शंकर विसीको पनि उपस्थिति थियो ।