
चलचित्र प्राविधिक संघका लागि सन्तु तामाङको महत्व कति छ त्यो स्वयम उनीले बुझेका छैनन् होला तर शनिबार आयोजित एक कार्यक्रममा सन्तु उपस्थित नहुँदाको सन्नाटा भने अर्कै थियो ।
'विगत १३ बर्षदेखि उहाँले यो संस्थालाई नेतृत्व गरिरहनु भएको थिए तर आज नयाँ नेतृत्व आउना साथ उहाँको अनुपस्थितिले चित्त दुखिरहेको', बारम्बार फोन गरेर निमन्त्रणा गर्दा समेत कार्यक्रममा उपस्थित नभएपछि प्राविधिक संघका महासचिव अनन्त तिमिल्सनाले दुखेसो ब्यक्त गरे । पछिल्लो कार्यकालका पदाधिकारीलाई सम्मान पूर्वक विदाई गर्ने उदेश्यले आज आयोजित नयाँ कार्यसमितिको पहिलो कार्यक्रममा संघका निवर्तमान अध्यक्षको अनुपस्थितिले कार्यक्रम अवधिभर सन्तुको आलोचना पनि भएको थियो ।
आर्थिक हिनामिनाको आरोप प्रत्यारोपका कारण सन्तुको नेतृत्वमा रहेको पछिल्लो कार्यकाल ८ महिनामा डिसमिस भएपछि एक साता अघि नयाँ निर्वाचनबाट मनोज केसीको नेतृत्वमा संघ पुर्नगठित भएको थियो । जस अनुरुप मनोज अध्यक्ष भएपछि एउटै आमाको दाजुभाई जस्तै उनीहरूको सम्बन्ध अब सौता बराबरको भएको पनि अनुमान लगाईएको छ । किनकी मनोजले कार्यक्रम चलिरहँदा पनि सन्तुलाई आउन फोन मार्फत आग्रह गरिरहेका थिए तर सन्तु भने उपस्थित हुन सकेनन् ।
यस्तै निवर्तमान अध्यक्षको अनुपस्थिति विना पछिल्लो कार्यसमितिका सदस्यलाई विदाई गरेको नयाँ नेतृत्वलाई प्राविधिक संघको सल्लाहकार समितिले अधिकार हस्तान्तरण पनि गरेको छ । 'निर्वाचनका लागि विधानमा उल्लेखित अधिकार प्रयोग गरेर हामीले यो संस्थाको नेतृत्व लिदै सफल रुपमा निर्वाचन सम्पन्न गरेकाले आजको मिति देखि सम्पूर्ण अधिकार यो नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेका छौ', संघका सल्लाहकार मोहन निरौलाले भने । उनी सहित अर्का सल्लाहकार डिक खड्काले पछिल्लो कार्यकालका पदाधिकारीलाई अविर लगाएर र खादा ओढाएर विदाई गरेका थिए । बिदाई कार्यक्रममा पूर्व कार्यसमितीका जम्मा चार सदस्य उपस्थित थिए ।