
सेलिब्रेटी बन्ने मन नभएको को पो होला र ? जुनसुकै माध्यमबाट हिरोईज्म शो गरेर आफुलाई हिरो बनाउनका लागी अहिलेको युवापुस्ता लागीपरेको अवस्थामा फिल्मको माध्यमबाट सेलिब्रेटी बन्ने भनेर दौडिरहेका धेरै युवाहरु छन् । नेपाली फिल्मको स्तर वृद्धि संगै नेपाली फिल्म उद्योगमा जम्ने सुर कस्दै आवश्यक ज्ञान लिने युवाहरुको संख्या पोखरामा पनि बाक्लै भेटिन्छ । फिल्ममा हिरो बन्नकै लागी अभिनयकला, नृत्यकला र शारिरीक सुगठनतर्फ लाग्ने युवाहरुको संख्या हेर्दा लाग्छ यी सबै जना साँच्चैको हिरो बन्ने नै हो भने त नेपाली फिल्म उद्योग पोखराका युवाहरुले मात्रै हर्लप्पै ढाक्छन् ।
पोखराका विभिन्न कला केन्द्रदेखि लिएर नृत्य प्रशिक्षणमा हिरो बन्ने सपना साँचेर प्रशिक्षण लिन आउने युवाहरुको संख्या देख्दा नेपाली फिल्म उद्योग विस्तारित हुँदै गएको बुझ्न सकिन्छ । यो त भयो पोखराको कुरा, काठमाण्डौसंगै मुलुकका हरेक शहरमा यस्ता सपना सजाउनेहरुको संख्या निकै बाक्लो छ । ‘हामीसंग नृत्य सिक्ने भनेर आउने ९० प्रतिशत युवापुस्ता फिल्मकै लागी भनेर आउने गरेको पाएको छु',’ माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्रका संचालक तथा कोरियोग्राफर सुवास राई भन्छन्–‘आउँदा ताका नृत्य मात्रै सिक्ने भनेर आउने गरे पनि उनीहरुको अन्तिम लक्ष्य भनेको फिल्म र म्युजिक भिडियो मै देखिनु हुन्छ ।’ फिल्म र म्युजिक भिडियोका लागी नृत्यकला अत्यन्त जरुरी भएकोले पनि यस्ता केन्द्रहरुमा युवायुवतीहरुको बाक्लो उपस्थिती देख्न सकिन्छ ।
त्यसो त फिल्ममा ईन्ट्रि गर्न सजिलो होस् भनेर नै विभिन्न वेभसाईटहरुमा फोटो सेसन गराउनेको संख्या पनि पोखरामा बाक्लै छ । विशेषगरि फोटो सेसन गरेर आफ्नो बारेमा वेभसाईटमा जानकारी दिएर फिल्म उद्योगको यात्रा रोज्ने समुहमा युवतीहरुको लर्को धेरै छ । ‘विशेष गरि फिल्मकर्मीहरुको नजरमा पर्नका लागी युवतीहरुलाई फोटो सेसनले धेरै सघाएको पनि छ’, पोखरा सिटि डटकमका म्यानेजिङ डाईरेक्टर रवी श्रेष्ठ भन्छन्–‘कतिपय युवतीहरुले फोटो सेसन गराएकै आधारमा विभिन्न फिल्म र म्युजिक भिडियोमा काम पनि पाईसकेका छन् । उनीहरुले अहिले धेरै राम्रो पनि गरिरहेका छन् ।’ अर्को वेभसाईट ठिकठाक डटकममा फोटो सेसन गरेकी पोखराकै श्वेता भट्टराई अहिले नेपाली फिल्म उद्योगमा नायिकाको रुपमा व्यस्त छिन् ।
फिल्म अथवा म्युजिक भिडियो फिल्डमा आउनका लागी जो कसैलाई पनि त्यस क्षेत्र सम्बन्धि ज्ञानको आवश्यक भएको फिल्म निर्देशक नेत्र गुरुङ बताउँछन् । फिल्ममा प्रवेशका लागी अभिनय र नृत्यको सामान्य ज्ञान पनि भएन भने रहरले मात्रै नहुने उनको तर्क छ । ‘रहर गरेर मात्रै फिल्म र म्युजिक भिडियोमा देखिन खोज्नेको संख्या बाक्लिनु भनेको उद्योगकै लागी हानीको कुरा हो', गुरुङले भने–‘रहर गरेर मात्रै यो क्षेत्रमा प्रवेश गरेकाहरुले आफुलाई खरो उतार्न नसक्दा पाखा लागेका कैयन उदाहरणहरु पनि छन् ।’ यो क्षेत्रमा आफ्नो करिअर नै बनाउने गरि सोँच राखेर त्यसका लागी तयार भएर आउने हो भने फिल्म उद्योगमा धेरै संभावना रहेको उनले बताए ।
फिल्ममा खेलाईदिने भन्दै ठगी
फिल्म तथा म्युजिक भिडियोमा देखिने चाहना बोकेका कतिपय युवायुवतीहरु निर्माता, निर्देशकबाट ठगिने समेत गरेका छन् । फिल्म र म्युजिक भिडियोमा देखिनकै लागी मात्रै कतिपय युवायुवतीहरु मोटो रकममा सम्झौता गरेर प्रवेश गर्ने गर्छन् । यस्ता युवायुवतीहरुले फिल्म र भिडियोमा सानोतिनो भुमिकाको लागी पनि पैसा खर्च गर्छन् । ठुला-ठुला सपना देखाएर कतिपय निर्माता निर्देशकहरुले त फिल्म उद्योगमा छिर्ने चाहना भएका युवायुवतीवलाई फँसाउदै आफ्नो काम पुरा गर्ने गरेको समेत बताईन्छ ।
पैसा फसाएर फिल्ममा देखिन पाउने आशमा रहेका युवायुवतीहरु पछि त्यहि फिल्ममा आफुलाई देख्न नपाएपछि आजित भएर यो क्षेत्रबाट पलाएन समेत भएका छन् । कतिपय यस्तै कलाकार बन्नका लागी पैसा फसाएका युवायुवतीहरुले अब कहिल्यै फिल्म क्षेत्रमा नफर्कने भनेर कसम खाएको समेत सुनिन्छ । ‘जुनसुकै क्षेत्रमा एकैचोटी ठुलो सफलता पाउँछु भन्ने सोच्दा दुर्घटना हुन सक्छ', पोखरामा रहेर फिल्म क्षेत्रमा संघर्ष गरिरहेका नायक मिलन शंकरले भने–‘सफलता गर्नका लागी संघर्ष गर्नैपर्छ ।’ नेपाली फिल्म उद्योगमा अहिले चल्तीमा रहेका नायक नायिकाहरुको धेरै संघर्ष गरेर मात्रै यो स्थानसम्म आईपुगेका हुन् ।