
नायिका रञ्जना शर्मासँगको दाम्पत्य जीवनलाई अन्त्य गर्दै निर्देशक श्याम भट्टराईले नयाँ जीवन जिउने शुर कसेका छन् । दुई बर्ष अगाडी अमेरिका हानिएकी आफ्नी श्रीमती लामो समय सम्पर्कमा नआएपछि श्यामले जीवनमा नयाँ मोड ल्याउन कम्मर कसेका हुन् ।
आफ्नै पहलमा रञ्जनालाई अमेरिका पठाएका श्यामले फिल्मीखबरसँग कुरा गर्दै भने, 'अब एक्लो भएर बस्न सक्दिन त्यसैले दिगो जीवनको कल्पनालाई व्यवहारिक रूप दिने सोचमा छु ।' परिवारले पनि यो बिषयमा स्विकृती दिईसकेकाले आफूले दोस्रो बिबाह गर्ने मुड बनाएको श्यामले बताए । औपचारिक रूपमा डिभोर्स नभए पनि रञ्जनासँगको दाम्पत्य जीवन अब टुंगिएको श्यामले बताए । उनले भने, 'अब नयाँ जीवन नयाँ तरिकाले जिउँछु ।'
'जानकी' टेलिफिल्ममा काम गर्दागर्दै २०६३ साल असार २१ गते लगनगाँठोमा बाँधिएका श्याम र रञ्जनाको बिचमा करिब एक बर्ष जस्तो सम्बन्ध बिग्रियो । उनीहरू बिच बोलचाल समेत भएन तर पछि एकअर्काले आफ्नो गल्ती महसुस गर्दै जोडीए । बिछोड पछि केहि समयको मिलन पश्चात रञ्जना अमेरिका हानिईन् र उतै हराईन् । बिचमा केहि समय यि दुईको फोन बार्ता पनि भयो तर अहिले भने रञ्जना सम्पर्क बाहिर रहेको श्यामको भनाई छ ।
हाल आफ्नै निर्माण तथा निर्देशनमा बनेको फिल्म 'लंका' को पोस्ट-प्रोडक्सनमा व्यस्त रहेका श्यामले फिल्म रिलिज पश्चात भनेजस्तो साथी पाए बिहे गर्ने बताए । उनले भने, 'मलाई र मेरो क्षेत्रलाई बुझ्ने साथी पाएँ भने लंका रिलिजसँगै बिबाह गर्छु ।' हुनत श्यामलाई बिहेको रहर हैन तर पनि जीवनमा सुख दु:ख साट्ने साथीको खाँचो छ उनलाई । रञ्जनालाई अमेरिका पठाएको स्मरण गर्दै श्याम भन्छन्, 'बिहे भनेपछि डर लाग्छ तर पनि एक्लो जीवन सधैं जिउन गार्हो हुने रहेछ । तर अब म अमेरिका छिराउन बिहे गर्दिन ।'
रञ्जनाले छोडेर गएपछि एक्लिएका श्यामले केहि महिना अगाडी फेसबुकमा आफ्नो सम्बन्धको बारेमा स्टाटस लेखेका थिए । उनले लेखेको स्टाटस यस्तो थियो -
'आखिर पागल हुने लोग्ने मान्छे नै रहेछ । म पनि पागल भएँ कसैको मायामा । अहिले यस्तो लाग्छ कि म संसारको ठूलो बेबकुफ मान्छे हुँ । सायद अब छिट्टै मेरो दुनियाँ नयाँ शुरू हुन्छ ।'
यसबाट के बुझ्न सकिन्छ भने उनले त्यो समयमा राखेको सोचलाई अहिले पूर्णता दिंदैछन् । हेरौं उनले कहिले भेट्ने हुन् आफ्नो दोस्रो सहयात्री ।