बिजयपथबाट निर्देशनमा डेब्यू गरेका बसन्त निरौलाले आफ्नो दोस्रो फिल्म 'टाईम' मा आफ्नै श्रीमती पवित्रा आचार्यलाई मुख्य भुमिकामा उतार्दैछन् । बिजयपथमा पनि मुख्य भुमिका निर्वाह गरेकी पवित्रालाई बसन्तले 'टाईम' मा दोहोर्याएका हुन् ।
हुनत बसन्त र पवित्राको मायाप्रेम पनि बिजयपथ फिल्मले नै गाढा बनाएको हो । बसन्त भन्छन्, 'भेटघाट त ५ बर्ष अघि नै भएको हो तर यो फिल्मबाट हामी अझ नजिक भयौं र बैबाहिक बन्धनमा पनि बाँधियौं ।' प्रेम पछिको मागी बिबाह गरेका बसन्तले श्रीमतीलाई नै फिल्ममा लिनुको कारण खुलाउँदै भने, 'उनले राम्रो अभिनय गर्न सक्छिन् र मेरो फिल्मको कथामा उनी सुहाउँछिन् पनि त्यसैले मैले लिएको हुँ ।'
भाद्र १५ गतेबाट सुटिङ शुरू हुने सो फिल्ममा पवित्राको साथमा निर्जन थापा र गौरव थपलियाले मुख्य भुमिका निर्वाह गर्दैछन् । राम के. प्याकुरेल, दिनेश ठकुरी र मदन सिटौलाले निर्माण गर्ने सो फिल्ममा रामेश्वर कार्कीको छायांकन, सामिप्य तिमिल्सिनाको लेखन तथा अर्जुन पोखरेलको संगीत रहेको छ । समयका कारण मानिसको जीवनमा आउने उतारचढावलाई कथा बुनिएको त्रिकोणात्मक सो फिल्मका केहि कलाकारको छनोट हुन भने बाँकी छ ।