फिल्मकर्मीहरूमा अहिले मलमासको डर देखिएको छ । त्यसैले त मलमास शुरू हुनु पूर्व फिल्मकर्मीहरू धमाधम कार्यक्रम गर्न थालेका छन् ।
भाद्र महिनामा सुटिङ शुरू हुने फिल्म 'कलिउड' को मंगलबार शुभसाईत निकालियो । मलमास लागे पछि शुभकार्य गर्दा राम्रो नहुने भन्दै मुहूर्त गरिएको निर्देशक नवराज आचार्यले जानकारी गराए । फिल्मको सुटिङ मलमास लागेका बेला हुने भएकाले सो मलमासलाई काट्न फिल्मका निर्माता कुमार खड्का र नायक आर्यन सिग्देलले कमलादी स्थित गणेश मन्दिरमा पुजाआजा गरि शुभसाईत सु-सम्पन्न गरेका थिए ।
यस्तै गत सोमबार सञ्चारकर्मीहरूलाई थाहा नै नदिई 'अप्स एण्ड डाउन' फिल्मको पनि मुहुर्त गरियो । भाद्र १ गतेबाट सुटिङ शुरू हुने सो फिल्मको मुहुर्त मलमासबाट बच्न गरिएको हो । जनक खकुरेलको निर्देशनमा बन्न लागेको सो फिल्मको भक्तपुरको एक मन्दिरमा नायिका ऋचा सिंह ठकुरी र नवनायक सुरज ठकुरीले पुजा गरेर शुभसाईत निकालेका हुन् । सुनिल ढकालले निर्माण गर्न लागेको सो फिल्म टिनेजर युवायुवतीहरूको जीवनमा आउने उतारचढावमा केन्द्रित हुने बताईएको छ ।
यस्तै मलमासकै डरले आज बुधबार फिल्म भिसा गर्लको युनिटले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हुनसक्ने अनुमान गरिएको छ । यता मलमास लाग्दैछ भन्ने चाल पाउने बित्तिकै हतार हतारमा 'टाईम' फिल्मको बिहिबार बिहान शुभसाईत निकालिंदैछ । फिल्मका निर्देशक बसन्त निरौलाले सिमित सञ्चारकर्मीलाई डाकेर फिल्मको शुभसाईत निकाल्न लागेका हुन् । फिल्मीखबरसँग कुरा गर्दै बस्नेत भन्छन्, 'मलमास लाग्दैछ भन्ने थाहा पाएँ त्यसैले भोली हतार हतार फिल्मको शुभसाईत निकाल्दैछु ।'
मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनको लागि मलमास आउने गर्दछ । मलमासमा कुनै पनि शुभ कर्महरु वा साईतहरु भने हुँदैनन् ।

