
भाद्र १ अर्थात यहि शुक्रबारबाट देशभर रिलिज हुन लागेको फिल्म हेल्लो प्रकृतिको प्रमोसनको लागि फिल्मका निर्देशक सुनिल पाण्डे पुर्व आएका छन् । केहि दिन अगाडी पश्चिम पुगेर फिल्मको प्रचारप्रसार गरेका पाण्डे रिलिजको पुर्व सन्ध्यामा पुर्व आएका हुन् ।
पुर्व नेपाली फिल्म चल्ने राम्रो स्टेसनको रुपमा रहेकोले फिल्म रिलिजको दौडधुप हुँदाहुँदै पनि सिमित समय निकालेर आफु यता आएको उनले बताए । दमक, बिर्तामोड र धरानका स्थानीय संचारमाध्यममा पुगेर पाण्डेले फिल्मको बारेमा जानकारी गराएका थिए । फरक धार भनेर अस्लिल फिल्म बनिरहेको अवस्थामा आफुले रोमान्टिक लभ स्टोरीमा केन्द्रित रहेर फिल्म निर्माण गरेको उनको कथन थियो ।
यसै फिल्म मार्फत नायकको रुपमा डेब्यु गरेका अनिल थापाको काम उत्कृष्ट रहेको बताउदै दर्शकले उनलाई रुचाउने पाण्डेले दाबी गरे । अनिलको अलावा फिल्ममा सुमिना घिमिरे, विजय देउजा, सुशील पोख्रेल लगायतका कलाकारले समेत अभिनय गरेका छन् । प्रबिन भट्टराईले निर्माण गरेको फिल्म पूर्वको निलकण्ठ दमक, कृष्ण बिर्तामोड, सुकुना बिराटचोक लगायतका सिनेमा घरहरुबाट प्रदर्शनमा आउने छ ।
लामो समय पश्चात कम्ब्याक गरेका भुपेन्द्र रायमाझीको संगीत यतिबेला चर्चामा रहेको छ । सुगम पोख्रेल र जुन प्रसाईले गाएको 'निलो आकाश..' बोलको गीतलाई दर्शक स्रोतले रुचाएका छन् ।