
यहि भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'बिन्दास' को चार वटा गीत राखिएको अडियो सिडी सार्वजनिक गरियो । आईतवार राजधानीमा एक कार्यक्रममा विच युवा नेता गगन थापाको साथमा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्र प्राविधिक संघका नवनिर्वाचित अध्यक्ष मनोज केसी र फिल्म निर्माण टिमले अडियो एकसाथ सार्वजनिक गरेको हो ।
अर्जुन पोखरेलको संगीतमा तयार पारिएको सो फिल्मको गीतमा शिव परियार, दुर्गा खरेल, मिलन अमात्य र प्रल्हादको स्वर रहेको छ भने शब्द अमृत रेग्मी, उत्तम गौडेल र नरेश भट्टराईको रहेको छ । फिल्मको अडियो विमोचनमा संगीतकार अर्जुन पोखरेल भने उपस्थित हुन सकेनन् । किनकी उनी जिगोलो फिल्मको गीत रेकर्डिङका लागि मुम्बई पुगेका छन् ।
यता सो फिल्मको चर्चामा आएको गीत रिमझिम रिमझिम कि गायिका दुर्गा खरेलले भने सोही गीत गाएर उपस्थित अतिथी तथा सञ्चारकर्मीलाई मनोरञ्जन प्रदान गरिन् । यस्तै दुर्गाले गीत गाईरहँदा नायिका शुष्मा कार्की र नायक शुषान्त कार्कीले मन थाम्न सकेनन् र स्टेजमा खुलेर नाचे ।
मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मले आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गरेको बताईएको छ । राजु गिरीले निर्देशन गरेको फिल्ममा शुष्मा कार्की, शुशान्त कार्की, अशोक फुयाल र रोशनी घिमिरेको मुख्य अभिनय रहेको छ ।