पछिल्लो समय नेपाली फिल्ममा युवापुस्ताको आगमन बढ्दो छ जसले नेपाली फिल्मको दिशालाई विकाशोन्मुख तर्फ डोर्याएको देखिन्छ । केहि अपवादलाई छोडेर हेर्ने हो भने युवाहरूको टीमले बनाएको फिल्म नै अहिलेको पहिलो रोजाई बनेको देखिन्छ । यहि युवा फिल्ममेकरको भिडमा एक टीम नयाँ फिल्म लिएर आउने तयारी गर्दैछ ।
थुप्रै म्युजिक भिडियोको निर्देशनमा अनुभव बटुलेका आशिफ शाहले निर्देशन गर्न लागेको फिल्म हो 'कर्कश'। शाब्दिक रुपमा कर्कशको अर्थ नमिठो र कानलाई बिझाउने आवाज भए पनि कर्कश एउटा रोचक कथा भएको आशिफ बताउँछन् । आशिफ भन्छन्,'यो एउटा रकब्याण्डमा आबद्ध तीन युवाहरुको कथा हो जो ठमेलका पबहरुमा बजाउँछन् गाउँछन् ।' फिल्मको रकव्याण्डमा दयाहाङ राई, सत्यराज आचार्य र रेमनदाश श्रेष्ठ छन् । यि मध्ये सत्य र रेमन म्युजिक व्याकग्राउण्ड कै कलाकार हुन् भने दयाहाङ पात्रलाई मूर्त रूप दिन अहिले ड्रमसेट बजाउन सिक्दैछन् ।

भाद्र १० गते देखि सुटिङमा जान लागेको सो फिल्मको अहिले वर्कशप चल्दैछ । आफ्नो अभिनयमा जिवन्तता ल्याउने कलाकारहरू दयाहाङ राई, सत्यराज आर्चाय, रेमन दास श्रेष्ठ, सुरज सिहं ठकुरी, राजन इशान, लुनिभा तुलाधर र समुना केसी वर्कशपमा लागि परेका छन् । दर्शकमा एउटा उत्साह जगाउने खालको फिल्म बनाउने तयारीमा लागेको यो युनिटमा निर्माताको रूपमा अशिम शाह र आशिफ शाह रहेका छन् भने G21 यो फिल्मको निर्माण कम्पनी हुनेछ । फिल्मलाई सुसन प्रजापतीले खिच्नेछन् भने कथा अबिनाश बिक्रम शाह र आशिफ शाहको रहेको छ ।


