
भाद्र १५ गतेबाट पनि रिलिज डेट सार्ने मुडमा रहेको फिल्म ॐ निर्माण युनिट अहिले निकै दंग छ । कारण केहि दिन अगाडी मात्र सार्वजनिक गरिएको आफ्नो फिल्मको गीतलाई धेरै दर्शकले रूचाईदिएका छन् ।
गत सोमबार फिल्मीखबरले सार्वजनिक गरेको सो फिल्मको 'आज जति मात चढोस् चढ्न देऊ...' बोलको गीतलाई २३ हजार भन्दा बढिले अवलोकन गरिसकेका छन् । यति छोटो समयमा यति धेरै दर्शकले हेरिदिंदा मलाई निकै खुसी लागेको छ । मलाई लाग्छ यो गीत राम्रो भएर नै सबैको रूचीमा परेको हो', निर्माता करण क्रेजीले बताए । क्रेजीले थपे, 'गीत राम्रो बनाउन हामीले निकै मेहनत पनि गरेका थियौं ।' गीत मात्र हैन फिल्म पनि राम्रो बनाउन कुनै कसुर बाँकी नराखेको यि निर्माताको दाबी छ ।
अधिकांश फिल्ममा पुरै शरिर ढाकेर सिम्पल लुक्समा अभिनय गर्दै आएका नायिका झरना थापालाई यो गीतमा अलि ग्ल्यामर रूपमा प्रस्तुत गरिएको छ । सायद झरनाको ग्ल्यामर रूपलाई पनि दर्शकले रूचाएको हुनसक्ने अनुमान गरिएको छ । जे होस् गीतलाई धेरैले अवलोकन गरे आशा गरौं फिल्मलाई पनि धेरै भन्दा धेरै दर्शकले रूचाउने छन् । फिल्मका निर्देशक रामजी लामिछानेले नै करियोग्राफी गरेको सो गीतलाई मनिषा पोखरेलले गाएकी हुन् । गीतमा दिनेश सुनामको संगीत रहेको छ भने गीतको रचना प्रमोद ढुंगानाले गरेका हुन् ।
झरनाको साथमा सुमन सिंहको समेत मुख्य अभिनय रहेको सो फिल्ममा राजेश खड्गी र भुपाल खत्रीले पनि लगानी गरेका छन् । केआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सो फिल्ममा दिक्षा कुवँर र मोहन श्रेष्ठले पनि मुख्य भुमिका निर्वाह गरेका छन् ।