
संघर्षले मानिसलाई सफलता दिलाउँछ त्यो ध्रुब सत्य हो त्यसैले त मनोज केजी जो आठ बर्षको उमेरदेखि हाल सम्म फिल्म उधोगमा संघर्षरत छन् । संघर्ष जीवनको अन्त्य नहुन्जेल हरेक मानिसले गरिरहन्छ तर मात्र यति फरक हो कि सुरुवातको संघर्ष भन्दा सफलता तिर लम्किएको संघर्ष सार्है मिठो हुन्छ । र, त्यहि संघर्षले आज मनोज केसी फिल्म क्षेत्रमा सवैभन्दा बढी क्रियाशिल संस्थाको परिचय बनाएको प्राविधिक संघको अध्यक्ष पद आफ्नो पोल्टोमा पार्न सफल भएका छन् ।
कुनै समय अभिनेता भुवन केसी र कृष्ण मल्लको जुत्ता बोकेर हिड्ने त्यो केटो आज प्राविधिक संघको अध्यक्ष हुँदा अभिनेता कृष्ण मल्ल पनि दङ्ग छन् । आज भएको प्राविधिक संघको चुनावमा निर्विरोध हुँदै अध्यक्ष पद हत्याएपछि मनोजको संघर्षको फ्ल्यासब्याक भएको थियो । 'म भुवन केसी र कृष्ण मल्ल सरको जुत्ता बोकेर हिड्ने मान्छे तर आज मेरो लगनले यहाँसम्म आईपुग्दा म आफै प्रफुल्लित छु', मनोज केसीले फिल्मीखबरसंग आफ्नो फ्ल्यासब्याक सुनाए ।
उता निर्वाचन अबलोकनका लागि आएका अभिनेता कृष्ण मल्लले मनोजलाई जुत्ता बोक्ने केटाको रुपमा कहिलै नहरेको भन्दै उनको फिल्म क्षेत्रको लगनले उनलाइ यो स्थानसम्म पुर्याएको बताए । उनले भने, 'उसले के गर्थ्यो के गर्दैन थियो भन्दा पनि फिल्म क्षेत्र प्रति उसको समर्पित भावनाले उ यहाँसम्म आईपुगेको हो ।' हिजो अस्ति तँ भनेर सम्बोधन गर्ने कृष्ण मल्लले आज मनोजलाई तँ भनेर सम्बोधन गर्न निकै गाहो पर् यो ।
२८ बर्षदेखि निरन्तर फिल्म उद्योगमा विभिन्न कामको अनुभव बटुल्दै आएका मनोज केसी हाल प्रोडक्सन डिजाईनरको बिशेषणले परिचित छन् । चलचित्र प्राविधिक संघ स्थापनाको मुख्य जश पाउने ब्यक्ति पनि उनै हुन् भने हरेक बर्ष आयोजना हुने नेफ्टा अवार्ड स्थापनाको क्रेडिट पनि उनलाई नै जान्छ । काम गराईमा यो त्यो नभन्ने सोचाई भएका मनोजको केही ब्यक्तिगत आचरण प्रति कहिले काहिँ बहस हुने गरेता पनि समग्र उद्योगमा उनको योगदान आफ्नै ढङ्गको छ ।
'हिजोका दिनमा मेरा ब्यक्तिगत कारणले केही तनाव र विवाद पनि भए होलान् त्यो हिजोको कुरा तर आजका दिन देखि म तपाईहरुको सल्लाह र सुझाव विना कुनै पनि कार्य गर्ने छैन', अध्यक्षमा निर्वाचित भएपछि उनले आफनो नयाँ कार्यसमितिलाई सम्बोधन गर्दे भने । उनले एक बर्ष भित्र आफूले प्रशंशा योग्य कार्य गर्न नसके यो पदबाट राजिनामा दिने समेत बताए । उनको नेतृत्वमा आजबाट १७ सदस्य नयाँ कार्यसमिति गठन भएको छ । जसको दुई उपाध्यक्ष पदमा प्रकाश महरा र पुष्कर लामा छन् भने महासचिवमा अनन्त तिमिल्सना निर्वाचित भएका छन् । यसैगरी सचिवमा दिब्यराज सुवेदी र कोषाध्यक्षमा रत्न ढकाल 'मुन्ना' पनि निर्विरोध चयन भएका छन् ।
यता अन्य ११ केन्द्रिय कार्यसमिति सदस्यहरु पनि निर्विरोध चयन भएका छन् । जसमा क्रमश: सानु भारती, गिता पौडेल, शोभा श्रेष्ठ, हरी विशंखे, सजन श्रेष्ठ, तारा थापा किम्भे, शंकर पाण्डे, माधव प्रसाद थपलिया, अर्जुन पोखरेल र सुवास राज काफ्ले 'दु:खी' रहेका छन् ।
प्राविधिक संघमा प्रोडक्सन कन्ट्रोलरको बर्चश्व
आज भएको चलचित्र प्राविधिक संघको निर्वाचनमा प्रोडक्सन कन्ट्रोलरको बर्चश्व देखिएको छ । १७ सदस्य नयाँ कार्यसमितिको प्रमुख पदमा प्रोडक्सन कन्ट्रोलरहरुको बिजयी श्रृङखलाले प्राविधिकहरुको भिडमा सवै भन्दा अब्बल प्रोडक्सन कन्ट्रोलरहरु रहेछन् भन्ने पनि पुष्टी भएको छ । तथ्याकंगत हिसावमा प्रोडक्सन कन्ट्रोलरहरुको संख्या यति नै भन्न मुस्किल छ तर सक्रियताको हिसावमा पन्धको संख्यामा प्रोडक्सन कन्ट्रोलरहरु हाल सक्रिय रहेको अवस्था छ ।
आज गठन भएको सत्र मध्ये ७ पदमा प्रोडक्सन कन्ट्रोलर बिजयी भएका छन् । जसमा अध्यक्ष मनोज केसी, उपाध्यक्षद्धय प्रकाश महरा र पुष्कर लामा पनि प्रोडक्सन कन्ट्रोलर नै हुन् । यसैगरी महासचिव पदका बिजयी उम्मेदवार अनन्त तिमिल्सना पनि प्रोडक्सन कन्ट्रोलर हुन् । उता ११ सदस्य मध्ये तीन अनुहार सुवास राज काफ्ले 'दु:खी', अर्जुन पोखरेल र शंकर पाण्डे पनि प्रोडक्सन कन्ट्रोलर हुन् ।