प्रोमोशनका लागि समय नपुगेको भन्दै भदौ दोस्रो साता रिलिज हुने तयारीमा रहेको फिल्म रङको रिलिज मिती तीन महिना पर धकेलिकएको छ ।
निर्देशक रोशन हमालले दिएको जानकारी अनुसार अब यो फिल्म मंसीर ८ गते देखि देशब्यापी रिलिज हुने छ । सुमन सिंह, मुकेश आचार्य, सुमिना घिमिरे र दीपशिखा शाही लिड रोलमा रहेको रङलाई यो विचको तीन महिनाको पिरियडमा विभिन्न मुलुकमा रिलिज गरिने रोशनले बताए । उनले भने, 'सुरुमा अष्ट्रेलिया, जापान, अमेरिका, यूरोप सहित हङकङ र मलेशियामा प्रदर्शनका लागि सहमति भएको छ त्यसैले अब उताको रिलिज सकेर यहाँ गर्ने छौ ।'
८० लाख बजेटमा निर्माण गरिएको रङमा राजेश हमाल र करिश्मा मानन्धर पनि बिशेष भूमिका छन् । डेब्यू फिल्मको रुपमा रोशनको पहिलो काम तारिफ योग्य रहेको पोष्ट-प्रोडक्सनमा केही दृश्य हेरेका केही फिल्म मेकरहरुले भन्ने गरेका छन् तर फिल्म न हो पुरै नहेरी यसै भन्न सकिन्न । यध्यपी रोशन पनि फिल्म उत्कृष्ट बनाउन कुनै कसुर नराखेको तर्क दिन्छन् । तर पनि उनले केही नयाँ पन दिने सोचका साथ काम गर्दा गर्दै कोरियोग्राफर कविराज गहतराजबाट पाएको धोकालाई भने माफ गर्न नसक्ने बताउछन् ।
कविराजले नैतिकता बिर्सिएर रंगको एक गितमा प्रयोग गरिएको दृश्य र केही सट समेत उस्तै प्रकृतिले दीपक श्रेष्ठको फिल्म बाचामा प्रयोग गरिदिएपछि रोशन हमालको पारो तातेको हो ।

