
आज शुक्रबारबाट राजधानी बाहिर र भित्र गरी नयाँ र पुराना चार फिल्म 'धमाका', 'नयाँ नेपाल एक्सप्रेस', 'सौभाग्य' र 'यार्सागुम्बा' रिलिज हुँदैछन् ।
बिशुद्ध प्रेमकथामा निर्माण गरिएको बताईएको फिल्म धमाकामा राजेश हमाल, निखिल उप्रेती, सुमन सिंह र उषा पौडेलको मुख्य भुमिका रहेको छ । दिपक परिकोटीले निर्देशन गरेको सो फिल्मलाई राजेन्द्रमान श्रेष्ठ, अर्जुन महर्जन र रबिन महर्जनले निर्माण गरेका हुन् । दिपक शर्माको संगीत, अम्युदय खनालको लेखन, रोशन श्रेष्ठको द्धन्द, दिव्यराज सुवेदीको छायाँकन तथा शिब विकको नृत्य रहेको सो फिल्ममा नबिन श्रेष्ठ, सभ्यता गिरी, हेमन्त बुढाथोकी लगायतले पनि अभिनय गरेका छन् ।
एक बर्ष अघि मोफसलमा प्रदर्शन भई लगानी सेभ गरेकॊ बताईएको मल्टीस्टारर फिल्म सौभाग्य राजधानीका हलमा लाग्नेछ । निर्माता केदार पराजुलीले दिएको जानकारी अनुसार राजधानीका मुख्य १२ वटा हलमा उक्त फिल्म प्रदर्शन हुने छ । ४० लाख बजेटमा बनेको सौभाग्यमा तीन एक्सन स्टार राजेश हमाल, सुमन सिंह तथा आयुष रिजालको साथमा झरना थापा र सोनिया केसीको अभिनय रहेको छ ।
अशोक बम मल्लको निर्माण तथा निर्देशनमा बनेको नयाँ नेपाल एक्सप्रेस सामाजिक कथाबस्तुमा बनेको फिल्म हो । मौसमी मल्ल, शुष्मा कार्की, राज तिमल्सिना, भुपेन चन्द, नीता ढुंगाना, शर्मिला मल्ल, गणेश उप्रेती लगायतको अभिनय रहेको सो फिल्ममा लक्ष्मण शेषको संगीत सुन्न सकिनेछ । यस्तै राजेन्द्र केसीको निर्देशनमा बनेको ‘यार्सागुम्बा’ राजधानीका केहि हलमा लाग्दैछ । अनिता रिमाल केसी, प्रबिन बुढाथोकी, गोपाल बस्नेत र शम्भु पोखरेलको निर्माणमा बनेको सो फिल्ममा गणेश उप्रेती सहित केहि नयाँ कलाकारले अभिनय गरेका छन् ।