
हुनत नेपाली फिल्म उधोगमा निर्माताहरूले आफ्नो फिल्मको रिलिज डेट तय त गर्छन् तर रिलिज भने भनेको मितीमा गर्न सक्दैनन् । कहिले कुन मिती त कहिले कुन, यसरी रिलिज मिती टुंगो नलाग्दा मिडियाहरू पनि अन्यौलमा पर्ने गरेका हुन्छन् ।
हाल पोष्ट-प्रोडक्सनमा रहेको फिल्म 'माई ब्रदर' ले पनि आफ्नो रिलिज मिती तय गरेको छ । फिल्मका निर्देशक बिष्णु भट्टराईले आफ्नो फिल्म असोज १९ गते लाग्ने बताए । उनले भने, 'मैले त हलहरूसँग पनि एक चरणको कुरा गरिसकेको छु ।' अहिले सम्म असोज १९ मा कुनै पनि फिल्मले आफ्नो रिलिज मिती तय गरेको थिएन । पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'माई ब्रदर' लाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् ।
बालमनोविज्ञानलाई पनि आफ्नो कथामा समेटेका निर्देशक भट्टराईको यो फिल्ममा सुमिना घिमिरे र दीपक पाण्डेको मुख्य भुमिका रहेको छ । यो जोडीको साथमा फिल्ममा रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापाको साथमा बालकलाकार अनिष कंडेलको अभिनय हेर्न सकिनेछ भने अहिलेका चल्ती हिरो जीवन लुईटेललाई पनि बिशेष भुमिकामा देख्न सकिनेछ । फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।