
दुर्गिस फिल्म्सको व्यानरमा सुनिल रावलले निर्माण गर्ने भनिएको फिल्म 'होस्टेल' बिरूद्ध उजुरी परेको छ । निर्देशक दिवाकर भट्टराई र लेखक सामिप्य तिमल्सिनाले आफूलाई थाहै नदिई आफ्नो नाम र कन्सेप्टमा सुनिलले फिल्म बनाउन लागेको थाहा पाएपछि सो नाम र कन्सेप्टमा फिल्म बनाउन नदिन चलचित्र विकास बोर्डमा उजुरी परेको हो ।
लेखक सामिप्यका अनुसार केहि साता अगाडी आफूले सुनिललाई फिल्मको नाम र कथा सुनाएका थिए । सुनिलले पनि दिवाकरलाई लिएर सो फिल्म बनाउने पनि तयारी गरेका थिए । तर अन्तिम समयमा आएर सुनिलले कथा र नाम पाएपछि दिवाकरलाई लात हानेर आफ्नो कम्पनीको नाममा फिल्म दर्ता गरेका हुन् । सामिप्य भन्छन्, 'शुरूमा हामीसँग मिलेर फिल्म बनाउने भनेर कन्सेप्ट सुनाएँ तर पछि उहाँले हाम्रो कथा सुनेर हामीलाई नै धोका दिई फिल्म बनाउने तयारी गर्नुभयो । हाम्रो चाहना यो हो की हाम्रो कन्सेप्ट र नाममा फिल्म बन्न नपाओस् ।'
'उहाँ माथि ठूलो बिश्वास थियो । यसरी धोका दिनुहुन्छ जस्तो लागेको थिएन', आफूहरू बिच भएको बार्ता सुनाउँदै निर्देशक भट्टराईले भने, 'बिचमा एक पटक हामीसँग फिल्म बनाउने कुरा पनि गर्नु भयो र हामी चुप लाग्यौं तर अहिले हामीसँग काम नगरी हाम्रै नाम र कसेप्टमा फिल्म बनाउने तयारी गर्नु भएको छ । यो भन्दा ठूलो बदमासी के हुनसक्छ ?' दिवाकर पनि यो नाम र कन्सेप्टमा फिल्म बन्न नदिईयोस् भन्दै बोर्ड समझ अपिल गरेका छन् ।
सुनिल भन्छन्- 'मैले दिवाकरको कन्सेप्ट चोरेको छैन'
यता सुनिल रावल भने आफूले बनाउन लागेको कथा दिवाकरको कन्सेप्टसँग नमिल्ने बताउँछन् । उनी भन्छन्, 'दिवाकरले मलाई कथा सुनाएको हो तर हामीले बनाउने कथा भिन्न छ ।' भोली फिल्म बनिसकेपछि हेरेर आफ्नो कथा मिलेमा दिवाकरले आफ्नो कानुनी उपचार लिन सक्ने सुनिल बताउँछन् ।