
बिरालोले छाउरा सारे जस्तै गरि फिल्म फेसबुकले आफ्नो रिलिज डेट सारेको सार्यै गर्न थालेको छ । साउन १५ बाट भाद्र १५ अनि त्यसपछि भाद्र २९ मा रिलिज डेट तय गरिएको यो फिल्म अब भाद्र २२ मा रिलिज हुने बताईएको छ ।
फिल्मका निर्माता सुनिल कुमार थापाका अनुसार भाद्र २९ मा उपत्यका बाहिर हल कम हुने भएकाले भाद्र २२ मा सारिएको बताए । उनका अनुसार भाद्र २२ मा फेसबुकले राजधानी र राजधानी बाहिर गरेर तीन दर्जन भन्दा बढि हल पाउनेछ । बारम्बार रिलिज डेट सार्दा दर्शक कन्प्यूजमा पर्ने खतरालाई सुनिलले ध्यानमा नराखेका हैनन् तर उनी भन्छन्, 'मेरो फिल्म अहिलेको पर्खाईमा रहेको छ । दर्शकहरू फिल्म हेर्न आतुर छन् । मलाई लाग्छ रिलिज डेटको हेरफेरले फिल्मलाई खासै असर गर्दैन ।'
फेसबुक भाद्र २२ मा सरेपछि सो मितीमा दुई ठूला फिल्मको भिडन्त हुने भएको छ । भाद्र २२ गते नै आर्यन सिग्देल अभिनित प्रतिक्षित फिल्म 'धुवाँ यो नशा' पनि रिलिज हुने बताईएको छ । तर फिल्म रिलिज नहुञ्जेल कुन फिल्म कहिले लाग्छ भन्न सक्ने अवस्था भने छैन । नेपालमा फिल्म रिलिजको सिस्टम नबस्दा दर्शकलाई कन्फ्यूज बनाउने परम्परा फिल्मकर्मीहरूको छ ।
सुरज सुब्बा नाल्बोले निर्देशन गरेको फेसबुकमा राजेश हमाल, झरना थापा, सुनिल थापाको साथमा सुवास थापा, स्वतन्त्र प्रताप शाह, अनुराग मान सिंह कुवँर, मार्टिन खान, सुमन गैरे, विल्सन विक्रम राई लगायतका नयाँ पुस्ताले अभिनय गरेका छन् । फिल्म युवा बेरोजगारमा आधारित सस्पेन्स थ्रील फिल्म हो ।