
आगामी शुक्रबारबाट राजेश हमाल, निखिल उप्रेती, सुमन सिंह तथा उषा पौडेल स्टारर फिल्म 'धमाका' राजधानीमा हलमा लाग्ने भएको छ । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक दीपक परिकोटीले फिल्म यहि शुक्रबार राजधानी र भाद्र १ गते राजधानी बाहिरका हलमा लाग्ने जानकारी गराए ।
पछिल्लो समय चलेका कलाकारको पनि टाउको नबिकिरहेको अवस्थामा धमाकामा अभिनय गरेका कलाकारले धमाका कत्तिको मच्चाउने हुन् पर्खाईको बिषय बनेको छ । निकै समय अगाडी सुटिङ गरिएको सो फिल्मको बिषयबस्तु पनि पुरानै छ तर पनि निर्माण युनिट फिल्म चल्नेमा आशावादी छ । निर्देशक दीपक भन्छन्,'फिल्म पुरानो भए पनि दर्शकलाई मन पर्ने बनाएको छु ।'
यस्तै पत्रकार भेटघाट कार्यक्रममा उपस्थित भएका एक मात्र नायक सुमन सिंहले पछिल्लो समय फिल्म नचलिरहेको अवस्था र धेरै फिल्म एकै समयमा रिलिज हुने गरेको अवस्थामा आफूले अभिनय गरेको यो फिल्मको व्यवसाय अन्यौलमा रहेको बताए । तथापी आफ्नो तर्फबाट राम्रो काम गरेकाले दर्शकले रूचाउने उनको बिश्वास थियो । बिशुद्ध प्रेमकथामा निर्माण गरिएको बताईएको सो फिल्मलाई राजेन्द्रमान श्रेष्ठ, अर्जुन महर्जन र रबिन महर्जनले निर्माण गरेका हुन् ।
दिपक शर्माको संगीत, अम्युदय खनालको लेखन, रोशन श्रेष्ठको द्धन्द, दिव्यराज सुवेदीको छायाँकन तथा शिब विकको नृत्य रहेको सो फिल्ममा नबिन श्रेष्ठ, सभ्यता गिरी, हेमन्त बुढाथोकी लगायतले पनि अभिनय गरेका छन् ।