
भाद्र १५ गते रिलिज हुने भनिएको फिल्म 'ॐ' को गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । गीतमा नायिका झरना थापा भन्छिन्- 'आज जति मात चढोस् चढ्न देऊ...।'
प्रस्तुत गीतमा निकै ग्ल्यामर देखाईकी झरनाले नायक सुमन सिंहसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । फिल्मका निर्देशक रामजी लामिछानेले नै करियोग्राफी गरेको सो गीतलाई मनिषा पोखरेलले गाएकी हुन् । निकै खर्च गरेर निर्माण गरेको बताईएको सो गीतमा दिनेश सुनामको संगीत रहेको छ भने गीतको रचना प्रमोद ढुंगानाले गरेका हुन् ।
हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्म 'ॐ' लाई करण क्रेजीले निर्माण गरेका हुन् । फिल्ममा सुमन सिंह, झरना थापा, दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले अभिनय गरेका छन् । केआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सो फिल्ममा राजेश खड्गी र भुपाल खत्रीले पनि लगानी गरेका छन् ।
फिल्मको नाम भगवान शिबको प्रतिक भएकाले निर्माता क्रेजीले सोमबारको दिन पारेर गीत प्रिमियर गरेका हुन् । निर्माता क्रेजीले यसअघि पनि फिल्मको प्रोमो र पोस्टर सोमबारकै दिन पारेर सार्वजनिक गरेका थिए ।