मालतीको भट्टीमा रेखा थापाको भट्टी वाली रुपमा आनन्द लिने दर्शकहरुले अब फेरी रेखाको नयाँ भट्टीको स्वाद लिन पाउने भएका छन् । किशोर चौधरीको निर्देशनमा बनेको फिल्म भेटीमा रेखा थकाली महिलाको भूमिकामा भट्टी चलाईरहेको अवस्था देखिने छिन् ।
आधुनिक शैलीको मालतीको भट्टीमा मदिरा बेचेकी उनले अब आफ्नो नाम परिवर्तन गर्दै छ्याङ र तोङवाको स्वादमा आफ्नो ग्राहकलाई मताउने छिन् । कात्तिक ३ को रिलिज डेट फिक्स गर्ने तयारीमा रहेको उक्त फिल्मको फष्टलुक पोष्टर रिलिज संगै रेखा पुनः भट्टीवालीको रुपमा देखिन लागेको फिल्मका निर्देशकले जानकारी गराए । भदौ एक देखि प्रोमोशनमा उत्रने तयारीमा जुटेका चौधरीले फिल्मलाई स्वादिलो मसलाको रुपमा तयार गरेको पनि बताए ।
'फिल्म तयार भएर हातमा बसेको छ त्यसैले कात्तिक ३ को रिलिज डेट फिक्स हुनासाथ प्रोमोशनमा निस्कने छौ', राधानी बाहिर रहेका उनले फोनमा भने । रेखा फिल्ममा भट्टीवालीको भूमिकामा रहे पनि लिड हिरोईन चाहि रागिनी खड्गी हुन् । रागिनीको अपोजिटमा प्रमोद खड्का छन् । चित्रसेन बाबा मिडिया प्रालिको ब्यानरमा नारायण खतिवडाले लगानी गरेको उक्त फिल्मको बजेट ५० लाख रहेको बताईएको छ ।