
नेपालमै निर्मित पहिलो फिल्म 'आमा' का निर्देशक हिरा सिंह खत्रीको शालिक अनावरण अघि नै विवादमा परेको छ । चलचित्र विकास बोर्डको अगुवाइमा निर्मित शालिकको अनुहार नमिलेको बताउँदै फिल्मकर्मी विरोधमा उत्रिएपछि विवाद चुलिएको हो ।
बोर्ड भने आगामी १ असोजमा चलचित्र दिवसको दिन पारेर सालिक अनवारण गर्ने तयारीमा छ । फिल्मकर्मीका अनुसार हाल बोर्ड प्राङ्गणमा नै छोपेर राखिएको खत्रीको सालिकमा झम्म कपाल बनाइएको छ । तर वास्तविक जीवनमा खत्री कपाल बिहिन थिए । लामो समयदेखि चश्मा लगाएका खत्रीको सालिकमा चश्मा समेत छैन । विविध कारण सालिकको मुहार निर्देशक खत्रीसँग नमिलेको निस्कर्ष फिल्मकर्मीले निकालेका छन् ।
'निर्देशक खत्रीसँग मैले निकै लामो सयमसम्म संगत गरेको थिएँ', अग्रज अभिनेता एवं निर्देशक नीर शाहले भने, 'मैले भेटेदेखि उनको टाउकोमा कपाल थिएन भने आँखामा पावरवाला चस्मा थियो । तर बोर्डले बनाउन लगाएको सालिकमा चिटिक्क कोरिएको कपाल देखिन्छ । त्यसैले सालिकसँग खत्रीको मुहार कतै पनि मेल खाँदैन ।' शाहले झन्डै एक दशक संगत गरेको खत्रीको अनुहार आफूले अझै बिर्सन नसकेको दाबी समेत गरे । खत्रीको सालिक निर्माणमा बोर्डले हेलचक्र्याईं गरेकोमा आक्रोशित देखिएका शाहले प्रश्न गरे 'बोर्डले बनाउन लगाएको सालिक कुन हिरा सिंह खत्रीको हो त्यो हामीले बुझ्न सकेनौं । तर पहिलो नेपाली फिल्म आमाका निर्देशक हिरा सिंह खत्रीको सालिक त्यो हुँदै होइन ।' उनले हिरा सिंह खत्रीको भनेर बनाइएको सालिक रद्द गर्नुपर्ने माग पनि गरे ।
'बोर्डले दुबै भारतीय नागरिक हिरा सिंह खत्री र गोपाल भुटानीको सालिक बनायो । 'उनीहरुले नेपाली सिनेमामा पुर्याएको योगदानको कदर स्वरुप सालिक बनाएकोमा मेरो विरोध हैन', शाहको धारणा छ, 'तर प्रकाश थापा शिव, शंकर मानन्धर लगायत थुप्रै नेपाली सिने हस्ती हुँदाहुँदै पनि उनीहरुको सालिक नबनाएकोमा दुःख लागेको छ ।' उता अनावरण नै नगरिएको सालिकबारे बोर्डले कुनै प्रतिक्रिया दिएको छैन । 'गुगल सर्चमा निर्देशक हिरा सिंह खत्रीको फोटो खोज्दा कपाल भएको फोटो भेटियो । त्यही फोटोका आधारमा सालिक बनाइएको हो', बोर्डका एक कर्मचारीको प्रस्टोक्ति छ, 'खत्रीको कपाल भए नभएको बारे केही बुझेका छैनौं ।'
४ अप्रिल सन् १९१५ मा देहरादूनमा जन्मेका नेपाली भाषी खत्रीले मुम्बईमा फिल्मी करिअर बनाएका थिए । २०१८ सालमा उनलाई राजा महेन्द्रले नेपाल बोलाए । ४२ औ जन्मोत्सवको वृत्तचित्र बनाएर उनले राजा महेन्द्रलाई खुसी पारे । यसपछि निर्देशक खत्री नेपालमा निर्मित पहिलो फिल्म आमाको निर्देशकमा अनुबन्धित भए । उनले यो फिल्म २०२१ सालमा सुरु गरेर २०२२ मै प्रदर्शनमा ल्याए । लगत्तै खत्रीले 'हिजो आज भोली' र 'परिवर्तन' गरी थप दुई फिल्म निर्देशन गरे । २०१८ सालबाट एक दशकसम्म उनले नेपालमा एउटा वृत्तचित्र र तीन ओटा फिल्म निर्देशन गरे । २०२८ सालमा राजा महेन्द्रको निधनपछि खत्रीले नेपाली फिल्म निर्देशन गरेनन् । सन् १९७८ नोभेम्बरमा उनको निधन भएको थियो ।
स्रोत: राजधानी दैनिक