
प्रदर्शनका लागि पूर्ण तयार भएको फिल्म 'सिग्नेचर' ले आजबाट अफिसियल्ली पब्लिसिटी शुरू गरेको छ । युनिटले पब्लिसिटीको शुरूवात भने फेसबुक पेजबाट गरेको हो । सामाजिक सञ्जालमा फेसबुकमा आफ्नो फिल्म 'सिग्नेचर' को पेज तयार गरेर फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ ।
अहिले कथालाई सस्पेन्स राखिएको सो फिल्मलाई सागर उद्गमले निर्देशन गरेका हुन् । क्रियटिभ मनकामना फिल्म्सको व्यानरमा प्रकाश सुवेदी, बामदेब भट्टराई, सागर उद्गम र रमेश बाबा नेपालले संयुक्त रूपमा निर्माण गरिएको सो फिल्मलाई छिट्टै नै रिलिज गर्ने बताईएको छ । शुरूमा अर्न्तराष्ट्रिय बजार खोज्ने तथा फेस्टिभलमा लैजाने योजना बनाएको निर्माण युनिटले सत्य घटनामा आधारित सस्पेन्स फिल्म बनाएको बताएको छ ।
बिनोद पौडेल, सरिता गिरी, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेवी डिसी, अम्रिता थपलिया तथा बालकलाकार सौरभ सिंहको अभिनय रहेको सो फिल्मको कथा निर्देशक उद्गमले नै लेखेका हुन् । फिल्ममा पुरूषोत्तम प्रधान, धिरज जंग शाह, शिबराम श्रेष्ठ र नवराज सुवेदीको संयुक्त छायाँकन, अच्युत सिटौलाको गीत, संगीत तथा स्वर रहेको छ भने व्याकग्राउन्ड संगीत बिबश पौडेलले भरेका छन् । यसै गरि फिल्मको सम्पादन र कलरको जिम्मा निसान घिमिरेले लिएका हुन् ।