
नायक आर्यन सिग्देलको जन्मदिनको अवसर पारेर भाद्र २२ गते रिलिज हुन लागेको फिल्म धुवाँ यो नशाको गीत निर्माण युनिटले उपहार स्वरूप रिलिज गरेको छ ।
फिल्मका निर्माता राम प्रसाद पाण्डेले आज आर्यनको जन्मदिन भएकाले उनलाई उपहार स्वरूप गीत रिलिज गरेको बताए । साथै उनले उनका शुभचिन्तकका लागि पनि यो गीत बिशेष हुने बिश्वास व्यक्त गरे । एकसाता अघि कतार पुगेका आर्यनले हिजो नै दोहामा आफ्नो जन्मदिन मनाए भने आज राति नेपाल आएर पुन: नेपालमा उनी आफ्नो जन्मदिन सेलिब्रेट गर्नेछन् ।
आजै रिलिज गरिएको सो गीतमा आर्यनलाई निशा अधिकारीले साथ दिएकी छिन् । लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्म धुवाँ यो नशाको प्रस्तुत प्रिमियर गीतमा लोचन घिमिरेको संगीत, नरेश भट्टराईको गीत, सनुप पौडेलको स्वर तथा शिब विकको करियोग्राफी रहेको छ । सिनेमाटोग्राफर भने रामेश्वर कार्की हुन् भने सम्पादन बिपिन मल्लले गरेका हुन् । फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको व्यानरमा बनेको हो ।
फिल्ममा लागुऔषध दुर्व्यसनीको भुमिकामा देखिएका आर्यनका लागि यो बिशेष फिल्म हुनेछ । उनले आफ्नो केहि घट्दो क्रेजलाई यो फिल्मले माथि उठाउने बिश्वास समेत व्यक्त गरेका छन् । यति मात्र हैन फिल्म उधोगले पनि यो फिल्म माथि ठूलै आश राखेको छ । फिल्मले लागुऔषध दुर्व्यसनीलाई नै मुख्य बिषय बनाएको छ ।