
आज चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी चढेको सरकारी गाडीलाई एमालेको भात्री संगठन युवा संघ नेपालका कार्यकर्ता (युथफोर्स) ले खोसेको छ ।
सार्वजनिक विदाको दिन निजि प्रयोजनमा सरकारी गाडी किन चढेको भन्दै युथफोर्सको एक झुण्डले भण्डारी चढेको बा १ झ ९०२९ नम्बरको जिपलाई नियन्त्रणमा लिएको हो । बिहान साढे १२ बजे ड्राईभरका साथ कोटेश्वर निवासबाट ठमेल जाने क्रममा नयाँ बानेश्वर एभरेष्ट होटल अगाडी भण्डारीको गाडी खोसिएको हो । म्यानमारमा नेपाली फिल्मको सम्भाव्य बजार खोज्न एवं जति मार्केट छ त्यसलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने मिसन बोक्दै भण्डारीको भोली म्यानमार प्रस्थान गर्ने कार्यक्रम छ जसको आवश्यक काजात मिलाउन उनी ठमेल जादै थिए । तर युथफोर्सको मोनिटोरिङमा भईरहेको सरकारी गाडी दुरुपयोग नियन्त्रणको अभियानको शिकार आज भण्डारी भएका हुन् ।
'म उहाँहरुको स्पिरिट प्रति सहमत छु तर यहाँ कानुनी राज्य हुँदाहुँदै उहाँहरुले गरेको तरिका चाहि भएन', गाडी खोसिएपछि भण्डारीले फिल्मीखबरसंगको कुराकानीमा भने । लगातार तीन दिनको विदा भएका कारण उनले विदाको दिन गाडी चलाउन संचार मन्त्रालय मार्फत पास लिन भुलेका थिए जसकारण उनी चढेको गाडी खोसिएको हो । भण्डारीले सरकारी गाडी खोस्ने अधिकार प्रहरीमा मात्र रहेको भन्दै युथफोर्सले खोसेकोमा आपत्ति पनि जनाएका छन् । उनले भने, 'सरकारी पद धारण गरेका अरु कर्मचारीले जस्तै परिवार बोकेर घुम्न निस्किएको भए यस्तो कारबाही गर्नु जायज हो तर म अफिसियल्ली काममा भएका बेला गरिएको यो कदम सहि छैन ।'
युथफोर्सले खोसेको भण्डारी चढेको गाडीलाई नयाँ बानेश्वरमा रहेका ट्राफिक प्रहरीले केही समय पछि नियन्त्रणमा लिदै बग्गी खाना पुर्याएको छ ।