
पछिल्लो समयको केहि उदाहरणहरु देख्दा अहिलेको युवापुस्तालाई मनोरञ्जनात्मक र मसलेदार फिल्महरुले आकर्षित गरेको पाईन्छ । सामान्यतया फिल्म हेर्न जाँदा भए नभएको शैक्षिक सन्देश र आदर्श कुराहरु भएको फिल्म युवापुस्ताको रोजाईमा खासै परेको पाईदैन । तर यस्तै समयमा एउटा शिक्षा मुलक फिल्म आएको छ फिल्मको नाम हो 'हेल्लो प्रकृति' ।
फिल्म हेल्लो प्रकृतिको प्रोमोशनका लागी यस फिल्मका निर्देशक सुनिल पाण्डे यतिबेला पोखरामा छन् । 'मेरो फिल्ममा युवापुस्ताको मायाप्रेमलाई कमेडी पाराले प्रस्तुत गरेको छु', निर्देशक पाण्डेले भने- 'फिल्मले मनोरञ्जनसंगै युवाहरुलाई आवश्यक शिक्षा समेत दिन्छ ।' सामाजिक रुपमा युवाहरुको अवस्था कस्तो छ भन्ने समस्या देखाई त्यसको समाधान खोज्ने काम फिल्मको पनि भएको उनको तर्क छ र दर्शकले फिल्म रूचाउने पनि उनको दाबि छ । 'फिल्म मेकरहरुले सामाजिक उत्तरदायित्व पनि वहन गर्न जान्नुपर्छ', उनले भने- 'व्यवसायिकताको नाममा फिल्मले गलत सन्देश दिनु हुँदैन ।'
भदौ १ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउने फिल्मको सम्पुर्ण छायाँकन मकवानपुर जिल्लामा भएको हो । फिल्मले मकवानपुरको आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुर्याउने निर्देशकको विश्वास छ । 'मेरो एउटा लक्ष्य भनेको फिल्मको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्नु पनि हो', पाण्डेले अगाडी थपे- 'मेरो आगामी फिल्ममा मेची देखि महाकालीसम्मको लोकेशन अटाउने योजना छ ।' आगामी फिल्ममा आफ्नो योजना पुरा गराउनका लागी उनी यतिबेला त्यस्तै खालको निर्माताको खोजीमा छन् ।
हाल हेलो प्रकृतिको प्रोमाशनमा व्यस्त निर्देशक पाण्डेले प्रोमोशनकै लागी पोखरा हुँदै नारायणघाट जाने कार्यक्रम रहेको बताए । दृष्टि प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुमिना घिमिरे, विजय देउजा, सुशिल पोखरेल, सुपि थापा र नवप्रस्तुतीको रुपमा अनिल थापाको अभिनय रहेको छ । फिल्ममा संगीत भुपेन्द्र रायमाझिको रहेको छ । संगीतकार रायमाझी यसै फिल्मबाट करिब डेढ दशक पछि फिल्मी संगीतमा रि-ईन्ट्रि गरेका हुन् ।