
केही दिन अघि मात्र करेन्ट लागेर गम्भीर घाईते भएका प्रमिशका एक प्राविधिक निको हुन नपाई अर्का प्राविधिक घाईते भएका छन् । चाबहिल आरुबारी स्थित भुत घरमा सुटिङ चलिरहँदा प्रमिशको टिममाथि दैविक शक्तिले पटक पटक प्रहार गरेको हो ।
यस अघि पनि सतर्कता अपनाउदा अपनाउदै प्राविधिक तिर्थ लामा आईसियुमा पुग्ने गरी घाईते भएका थिए । सो घटनाको केहि दिनमा नै तीन फिट माथिबाट लडेर आर्ट डाईरेक्टर सुनिल लामाको दाहिने खुट्टाको गोलीगाँठो फुस्किएको छ । सुटिङ सकिन केही दिन मात्र बाँकी रहेको उक्त फिल्मको ईनडोरका दृश्यहरु धमाधम खिचिईदैछ जुन क्रममा अर्का प्राविधिक पनि घाईते भएका हुन् ।
'खै के भईरहेको छ मैले आफै बुझ्न सकिराछैन', प्रमिशका प्रोडक्सन कन्ट्रोलर अर्जुन पोखरेलले भने । अर्जुनको कन्ट्रोलमा चलिरहेको मञ्जरी फिल्ममा पनि विभिन्न दुर्घटना भईदिदा उनी फिल्म यूनिटलाई हेर्ने कि विरामीलाई हेर्ने भन्ने बिषयले तनावमा छन् ।
'तीन फिट पनि थिएन तर कसरी गोलीगाँठो फुस्कियो मलाई थाहा छैन', घाईते लामाले भने । खुट्टाको गोलीगाँठो फुस्किएर प्लष्टर लगाएपछि प्रमिशको काममा केही अबरोध पुगेको छ । लामा प्रमिशको सिङगापुर पार्ट सुटिङमा पनि गएका थिए । फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरिरहेका छन् जसको प्रमुख कलाकार केकी अधिकारी हुन् ।