
दोलखाको लाकुरी भन्ज्याङ स्थित पन्ध्र सय रोपनीको क्षेत्रफलमा फिल्म स्टूडियो निर्माणका लागि आवश्यक ३५ करोड सिड मनिको प्रस्ताव लिएर सरकारको नेतृत्व गरिरहेको दल एकिकृत माओवादीका अध्यक्ष प्रचण्डललाई भेट्न पुगेका फिल्मकर्मीलाई प्रचण्डले एक करोड निकास भएको जानकारी गराए । तर उक्त एक करोडबाट पन्ध्र सय रोपनीमा तारबार लगाउन पनि अपुग हुने छ । आशा ठूलै थियो तर 'नहुनु मामा भन्दा कानो मामा ठिक' भने झैं अन्य राजनीतिक दलबाट पाएको मौखिक आस्वाशन भन्दा माथी बढ्दै प्रचण्ड पहलले एक करोड निकासा हुने भएपछि फिल्मकर्मी केही हद सम्म दङ्ग छन् ।
आफ्नो सरकारका अर्थमन्त्री बर्षमान पुन 'अनन्त' संग आजै फोन संवाद गरी सो रकम निकासा गर्ने सहमति भएको प्रचण्डले डेलिगेसनका लागि आफ्नो कार्यालय आईपुगेका एक हुल फिल्मकर्मीमाझ भने । 'यहाँ आउनु भन्दा अघि तपाईहरुलाई केही गर्न सकिन्छ भनेर मैले अर्थमन्त्रीसंग फोनमा कुरा गरेको थिएँ सुरुमा उहाँ अर्ब नै हो कि भनेर तर्सिनु भयो अनि मैले सिड मनी मात्र भनेपछि उहाँले एक करोड दिने भनी फाईनल भनिदिनु भन्नु भा'छ', अर्थमन्त्रीले दिएको प्रतिबद्धतालाई प्रचण्डले सुनाए ।
प्रचण्डले पहिलो पटक प्रधानमन्त्री भएपछि एक करोडको चलचित्रकर्मी कल्याण कोष स्थापना गरेका थिए जुन कोषको सम्झना पनि उनले आज गरे । उक्त कोष राज्यको तर्फबाट फिल्मकर्मीलाई पहिलो र दीर्घकालिन सहयोग थियो । प्रचण्डले फिल्म क्षेत्रका सम्पूर्ण समस्या समाधानका लागि पार्टीका विभिन्न बैठकमा राखि समाधानको प्रयास पनि गरिने बताए ।
करिब एक घण्टा भएको भेटघाटमा फिल्मकर्मीहरुले चलचित्र ऐन निर्माण गरी बिकास बोर्डलाई स्वायतता गर्नु पर्ने तथा सेन्सर बोर्डलाई चलचित्र बिकास बोर्ड मातहत ल्याउन र फिल्मकर्मीको विभिन्न ब्यबहारिक समस्याको बारेमा अवगत गराएका थिए । सो भेटघाटका लागि रिदमको सुटिङ स्थगित गरि निर्देशक बिकास आचार्यका साथ पेरिस डाँडा पुगेका हिरो जीवन लुईटेलले फिल्म जगतको यथार्थ पिडा प्रचण्ड सामु राखेका थिए ।
भेटघाटमा महिला चलचित्रकर्मी मञ्चको तर्फबाट अध्यक्ष मौसमी मल्लले कलाकार र कला क्षेत्र पोलियोले ग्रसित भएको भन्दै तुरन्त पोलियो खोप राज्यबाट चाहिएको बताईन् । यसैगरी निर्देशक आकाश अधिकारी, घनश्याम खतिवडा, गायक कुमारध्वज कार्की तथा डान्स डाईरेक्टर गोविन्द राईले पनि आ-आफ्नो तर्फबाट विभिन्न समस्या प्रचण्ड सामु राखेका थिए ।
चलचित्र बिकास बोर्डको नेतृत्वमा भएको भाईरहेको राजनीतिक दलका शिर्षस्त नेताहरुसंगको यो भेटघाटकॊ शिलशिला नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेपछि अन्त्य हुने निर्देशक आकाश अधिकारीले जानकारी गराए ।