
विश्वको चर्चित तथा पुरानो भेनिस फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म 'बाँसुल्ली' ले स्थान पाएको छ । आगामी भदौ १३ देखि २३ सम्म इटालीमा हुने ६९ औं संस्करणको उक्त फेस्टिभलमा निश्चल बस्नेत र देवकी राईले निर्माण गरेको १५ मिनेटको 'बाँसुल्ली' छनोट भएको हो ।
मीनबहादुर भामले निर्देशन गरेको उक्त सर्ट फिल्ममा संविधानसभाको चुनाव हुँदा जुम्लाकी १२ वर्षीया बालिका बिजुलीको जिन्दगीमा आएको परिवर्तनलाई प्रस्तुत गरिएको छ । ओरिजोन्टी सेक्सनमा छानिएको सो फिल्ममा निकिता बुढा, नरेश भण्डारी, घनश्याम गिरी, हीरा बिजुली लगायतले अभिनय गरेका छन् । फेस्टिभलमा संसारभरबाट एक हजार ७ सय ५२ छोटो फिल्म दर्ता भएका थिए ति मध्ये बाँसुल्ली सहित १४ फिल्म महोत्सवमा छानिएका हुन् ।
यस्तै जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर गरिएको नेपाली फिल्म 'हाइवे' ओसिएन फिल्म फेस्टिभलमा पनि छनोटमा परेको छ । २७ जुलाई देखि भारतको नयाँ दिल्लीमा शुरू भएको सो फेस्टिभलमा हाइवेलाई अगस्ट १ र २ मा प्रदर्शन गरिनेछ । दीपक रौनियारले निर्देशन गरेको सो फिल्ममा बन्दको मारमा परेका नेपालीहरूको पिडालाई प्रस्तुत गरिएको छ । गत साउन ५ गतेबाट नेपालमा प्रदर्शनमा आएको सो फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाउन नसकेपनि यस्ता फेस्टिभलमा फिल्म पुग्नुलाई गौरवको रूपमा हेरिएको छ ।
उक्त फेस्टिभलमा भारतिय, अरबी सहित एशियन मुलुकका फिल्महरू छनोटमा परेका छन् । फेस्टिभल अगस्ट ५ सम्म चल्नेछ ।